इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लेस्टर सिटीलाई हराउँदै शिर्ष स्थानको म्यानचेस्टर सिटीसँग अंक दुरी घटाएको छ।
बिहिबार राति एनफिल्डमा भएको खेलमा लिभरपुलका लागि डियोगो जोता नायक भए।
उनले टीमका लागि दुबै गोल गरेका थिए। लेस्टरमाथि जित निकाल्दै एक खेल कम खेलेको लिभरपुलले शीर्ष स्थानमा रहेको सिटीसँगको अंक दुरी ९ मा झारेको छ।
खेलको ३४ औं मिनेटमा जोताले गोल गर्दै लिभरपुललाई सुरूआती अग्रता दिलाएका थिए। पहिलो हाफमा १-० ले अग्रता लिएको लिभरपुलले दोस्रो हाफमा अग्रता दोब्बर पार्यो।
खेलको ८७ औं मिनेटमा जोताले नै दोस्रो गोल गरेपछि लिभरपुलले सहज जित निकालेको हो।
जीतसँगै लिभरपुल २३ खेलबाट ५१ अंकसहित दोस्रो स्थानमा यथावत छ। लेस्टर भने २१ खेलबाट २६ अंकसहित १२औं स्थानमा छ।
शीर्ष स्थानको सिटी २४ खेलबाट ६० अंकसहित लिभरपुलभन्दा ९ अंकले माथि छ।
तेस्रो स्थानमा रहेको चेल्सीको ४७ अंक छ।