नेपाली राष्ट्रिय टिमका डिफेन्डर अनन्त तामाङ इन्डियन सुपर लिग (आइएसएल) क्लब एससी इस्ट बंगालमा आबद्ध भएका छन्। उनी यो सिजनको बाँकी चार खेलका लागि आबद्ध भएका हुन्।
नेपाली खेलाडी भारतको आइलिगमा आबद्ध भए पनि आइएसएल टिममा आबद्ध भएको यो पहिलो पटक हो।
नेपालको ए डिभिजन लिग थ्रीस्टारबाट खेलेका अनन्त मरिससविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा घाइते भएका कारण मैदान बाहिर रहेका थिए।
नेपाली टिमबाट विगत ८ वर्षदेखि खेलिरहेका २४ वर्षीय अनन्तले ४३ अन्तर्राष्ट्रिय खेलमा २ गोल गरेका छन्।
सेन्टर ब्यक अनन्तले यसअघि स्पेनको मार्बेला एफसी एकेडेमीमा सन् २०१७-१८ को सिजनमा खेलेका थिए।
अनन्त इस्ट बंगालमा फ्रि ट्रान्फरमा आबद्ध भएका हुन्। ५ फिट १० इन्च अग्ला अनन्त विपक्षीका लागि रक्षापंक्तीमा मात्र होइन अग्रपंक्तिमा पनि खतरा बन्न सक्छन्।
जारी सिजनको आइएसएलमा इस्ट बंगाल ११ क्लब मध्ये १०औं स्थानमा छ। इस्ट बंगालले १६ खेल खेल्दा १ खेलमा मात्र जित हात पारेको छ।
इस्ट बंगालले लिगको १७औं चरणमा आगामी सोमबार केरला ब्लास्टर्ससँग खेल्दैछ।