नेपाली महिला राष्ट्रिय टिमकी फरवार्ड सावित्रा भण्डारी 'साम्बा' ले पछिल्लो एक वर्ष आफ्ना लागि सबैभन्दा पीडादायक भएको बताएकी छिन्।
गत वर्ष महिला राष्ट्रिय लिगका क्रममा घुँडामा चोट लागेपछि साम्बा एक वर्षदेखि मैदान बाहिर छिन्।
सात महिनाअघि शल्यक्रियाका लागि साम्बा कतार पुगेकी थिइन्। शल्यक्रिया गरेको सात महिनापछि साम्बा यसैसाता नेपाल फर्किइन्।
‘खेल जीवनमा पछिल्लो झण्डै एक वर्ष मेरा लागि सबैभन्दा पीडादायक रह्यो। गत वर्ष लिग खेल्ने क्रममा घुँडामा लागेको चोटका कारण फेरि मैदानमा फर्कन सक्दिन भन्ने चिन्ताले धेरै सताएको थियो। त्यस्तो अवस्थाबाट अखिल नेपाल फुटबल संघको पहल र कतार फुटबल संघको सहयोगमा मेरो उपचार सम्भव भएको छ,’ साम्बाले सामाजिक सञ्जालमा लेखेकी छिन्।
साम्बाले कतारको विश्वप्रसिद्ध अस्पताल अस्पेटारमा शल्यक्रिया, फिजियोथेरापी र ग्राउन्ड रिहाबपछि आफ्नो उपचार अन्तिम चरणमा पुगेको बताएकी छिन्।
‘मेरो हौसला बढाउने सञ्चारमाध्यम, फुटबल परिवार, फुटबलप्रेमी, शुभचिन्तक सबैलाई धन्यवाद दिन चाहन्छु। आशा छ पूर्णरुपमा ठिक भएर चाँडै मैदान फर्किएर फुटबल प्रेमीहरुलाई खुसी बनाउन कोशिस गर्नेछु,’ उनको भनाइ छ।
उनी अखिल नेपाल फुटबल संघ (एन्फा) को पहलमा कतार पुगेकी थिइन्। नेपाल एपिएफ क्लबकी फरवार्ड भण्डारी गत वर्षको महिला राष्ट्रिय लिगका दौरान घाइते भएकी थिइन्। नेपाल पुलिसविरुद्धको खेलमा उनी घाइते हुन पुगेकी थिइन्।
खेलको ६९औँ मिनेटमा पुलिसकी गोलकिपर उषा नाथसँग ठोक्किएपछि उनी घाइते हुँदै मैदानबाट बाहिरिएकी थिइन्।
एमआरआई रिपोर्टमा उनको दायाँ घुँडाको लिगामेन्ट च्यातिएको देखिएको थियो। जसका कारण उनको शल्यक्रिया गर्नुपर्ने भनिएको थियो।
लिगमा उनले १० खेलमा ४३ गोल गरेकी थिइन्। महिला लिगमा हालसम्म कुनै पनि खेलाडीको यही नै उत्कृष्ट खेल प्रदर्शन हो।