स्पेनिस ला लिगामा सेभियाले शीर्ष टोली रियल म्याड्रिडलाई पछ्याउने क्रम जारी राखेको छ।
घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा सेभियाले इल्चेलाई २-० गोलले हरायो। जितसँगै दोस्रो स्थानमा रहेको सेभियाले रियलसँगको दुरी तीन अंकले घटाएको छ।
सेभियाको जितमा अलेसान्द्रो गोमेज र राफा मिरले गोल गरे। पाहुना टोलीलाई खेलभर दबाबमा राखे पनि सेभियाले दुबै गोल दोस्रो हाफमा गरेको थियो।
७०औं मिनेटमा अलेसान्द्रो गोमेजले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। त्यसपछि ७५औं मिनेटमा अतिरिक्त खेलाडी राफा मिरले गोल गर्दै सेभियाको अग्रता दोब्बर बनाए।
६०औं मिनेटमा जेसस कोरोनाको स्थानमा मैदान प्रवेश गरेका राफा मिरले एन्थोनी मार्सियालको पासमा गोल गरेका थिए।
५७ प्रतिशत बल पोसेसन राखेको सेभियालाई पहिलो हाफमा रोकेपनि इल्चे दोस्रो हाफमा निरिह बन्यो। सेभियाका अलेसान्द्रो गोमेज ‘म्यान अफ दिन म्याच’ भए। जितसँगै सेभियाले २४ खेलबाट ५० अंक बनाएको छ।
शीर्षस्थानमा रहेको रियलको २३ खेलबाट ५३ अंक छ। पराजित इल्चे २६ अंकसहित १४औं स्थानमा छ।