ब्राजिली क्लब पाल्मेइरसलाई हराउँदै इंग्लिस क्लब चेल्सीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ।
अतिरिक्त समयमा पाल्मेइरसलाई २–१ ले हराउँदै चेल्सी पहिलोपटक क्लब विश्वकपको च्याम्पियन बनेको हो।
चेल्सीका लागि रोमेलु लुकाकु र काई हाभर्टजले गोल गरे । पाल्मेइरसका राफयल भेइगाले एक गोल फर्काए ।
युएईको आवुधावीस्थित मोहम्मद विन जायद रंगशालामा शनिबार राति भएको खेलको निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समया धकेलिएको थियो।
अतिरिक्त समयमा काई हाभर्टजले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई च्याम्पियन बनाए।
अत्यन्त प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा दुबै टोलीले १-१ गोल गर्दै पुन खेल बराबरमा सकाएका थिए। खेलको ५५औं मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई सुरूआती अग्रता दिलाए।
तर, चेल्सीको अग्रता धेरै समय टिकेन। खेलको ६४औं मिनेटमा राफयल भेइगाले पेनाल्टीमा गोल गर्दै खेललाई पुनः १–१ गोलको बराबरीमा ल्याए।
त्यसपछि थप गोल हुन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो।
अतिरिक्त समयको थप गरिएको छैठौं मिनेटमा लुआन गार्सिया दोहोरो पहेलो कार्ड पाएर मैदानबाट बाहिरिरिएपछि पाल्मेइरस १० खेलाडीमा समेटियो। त्यसको प्रत्यक्ष फाइदा चेस्ले लियो।
११७ औं मिनेटमा काईले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई च्याम्पियन बनाए।
यो सिजनमा चेल्सीको यो दोस्रो उपाधि हो। यसअघि चेल्सीले गत अगस्टमा युइएफए सुपर कपको उपाधि जितेको थियो।