शीर्षस्थानको म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सानदार जित निकालेको छ। रहिम स्टर्लिङको ह्याट्रिकमा सिटीले घरेलु टोली नर्विच सिटीमाथि ४–० को फराकिलो जित निकालेको हो।
शनिबार राति क्यारो रोड नर्विचमा भएको खेलमा सिटीका लागि थप गोल फिल फोडेनले गरे।
खेलको ३१औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै सिटीलाई सुरूआती अग्रता दिलाए। पहिलो हाफमा १–० ले अघि रहेको सिटीले दोस्रो हाफमा थप तीन गोल थप्यो।
खेलको ४८औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे। ७० औं मिनेटमा रहिमले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै सिटीलाई सहज जिततर्फ अघि बढाए।
इन्ज्युरी समयमा गोल गर्दै रहिमले ह्याट्रिक पूरा गर्दा सिटीले सानदार जित निकाल्यो।
पेनाल्टी प्रहारको रिवाउन्ड बललाई पुनः रहिमले पोष्टको दिशा दिएका थिए।
ग्रान्ट हान्लेले पेनाल्टी बक्समा लियाम डिलापलाई फउल गरेपछि रेफ्रीले सिटीलाई पेनाल्टीको अवसर दिएका थिए। तर रहिमको पेनाल्टीलाई नर्विचका गोलरक्षक एनगुस गनले बचाए पनि रिवाउन्ड आएको बलमा रहिम गोल गर्न सफल भएका थिए।
यो जितसँगै शीर्षस्थानमा रहेको सिटीको २५ खेलबाट ६३ अंक पुगेको छ। सिटीले दुई खेल कम खेलेको दोस्रो स्थानको लिभरपुललाई १२ अंकले पछि पारेको छ। पराजित नर्विच १७ अंक जोडेर १७औं स्थानमा रहेको छ ।