सुरूवाती अग्रता जोगाउन नसक्दा जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिखले लज्जास्पद हार बेहोरेको छ। बायर्नले घरेलु टोली वोकमसँग ४–२ को फराकिलो हार व्यहोरेको हो।
वोकमका लागि क्रिस्टोफोर एन्टी अजेज, योर्गेन लोकेडिया, क्रिस्टियन गाम्वोआ र जेरिट हल्टमानले गोल गरे। उनीहरू सबैले पहिलो हाफमै गोल गरेका थिए।
यो सँगै सन् १९७५ पछि पहिलो पटक बुन्डेसलिगा खेलमा डिफेन्डिङ च्याम्पियन्सले हाफ टाइमअघि चार गोल खाएको कीर्तिमान हो।
यसै सिजन गत सेप्टेम्वरमा भएको खेलमा बायर्नले वोकममाथि ७–० को जित निकालेको थियो।
वोचुममा शनिबार राति भएको खेलमा बायर्नका लागि दुवै गोल रोबर्ट लेवान्डोस्कीले गरे पनि हार टार्न सकेनन्।
खेलको नवौं मिनेटमा लेवान्डोस्कीको गोलबाट बायर्नले सुरूवाती अग्रता लिएको थियो। तर त्यो अग्रतालाई बायर्नले जोगाउन सकेन। खेलको १४औं मिनेटमा क्रिस्टोफोर एन्टी अजेजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि घरेलु टोलीले ७ मिनेटमा अन्तरमा तीन गोल थप्दै पहिलो हाफमै ४–१ को अग्रता लियो।
३८औं मिनेटमा योर्गेन लोकेडियाले पेनाल्टीमा गोल गर्दै घरेलु टोली वोकमलाई अग्रता दिलाए।
४०औं मिनेटमा क्रिस्टियन गाम्वोआले गोल गर्दै वोकमको अग्रता ३–१ मा पुर्याए। ४४औं मिनेटमा जेरिट हल्टमानले गोल गरेपछि वोकम पहिलो हाफमा ४–१ ले अघि बढ्यो।
दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरेको बार्यनले गोल गर्ने केही राम्रा मौका खेर फाल्यो। खेलको ७५औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गर्दै बायर्नलाई खेलमा फर्कने संकेत दिए पनि त्यसपछि थप गोल नहुँदा बायर्नले हार व्यहोर्नु पुग्यो ।
यो हारसँगै बायर्नले आफ्नो शीर्षतालाई थप मजवुत बनाउने अवसर गुमाएको छ। बायर्नको २४ खेलबाट ५२ अंक छ। यद्यपी शीर्ष स्थानमा अझै ९ अंकले अग्रता बनाएको छ।
दोस्रो स्थानमा रहेको बोरूसिया डर्टमुन्डको ४३ अंक छ। बायर्नलाई हराएको वोकम २८ अंक जोडेर ११औं स्थानमा उक्लिएको छ।