स्पेनिस ला लिगामा शीर्षटोली रियल म्याड्रिड भिल्लारियलसँग गोलरहित बराबरीमा रोकिँदा साविक विजेता एट्लेटिको म्याड्रिडले गेटाफेमाथि रोमाञ्चक जित निकालेको छ।
घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियललाई गोलरहित बराबरीमा रोक्दै भिल्लारियलले एक एक अंक बाँडेको हो। अर्को खेलमा १० खेलाडीमा समेटिएको एट्लेटिको म्याड्रिडले गेटाफेलाई उसैको मैदानमा ४–३ गोलले स्तब्ध बनायो ।
प्रतिस्पर्धात्मक खेलमा ५७ प्रतिशत बल पोसेसन राखे पनि रियलले गोल गर्न सकेन। बलियो रियलविरुद्ध रक्षात्मक खेल खेलेको भिल्लारियलको रणनीति सफल बन्यो। भिल्लारियलका जेरोनिमो रुल्ली ‘म्यान अफ दि म्याच’ भए। बराबरीसँगै शीर्षस्थानमा रहेको रियलको २४ खेलबाट ५४ अंक छ। ३६ अंक बनाएको भिल्लारियल छैठौं स्थानमा छ। दोस्रो स्थानमा रहेको सेभियाको ५० अंक छ।
यसैगरी एट्लेटिकोको रोमाञ्चक जितमा एन्जल कोरेआले दुई तथा म्याथिअस कुन्हा र मारियो हर्माेसोले एक एक गोल गरे। गेटाफेका इनेस युनालले दुई तथा बोर्जा मायोरलले एक गोल गरेका थिए।
लुइस स्वारेज नवौं मिनेटमा पेनाल्टीमा चुक्दा एट्लेटिको निरास बनेको थियो। तर १९औं मिनेटमा एन्जल कोरेआले गोल गर्दै एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाए । २७औं मिनेटमा म्याथिअस कुन्हाले गोल गर्दै एट्लेटिकोको अग्रता दोब्बर बनाए।
३०औं मिनेटमा बोर्जा मायोरलले गोल गर्दै गेटाफेलाई खेलमा फर्काउने प्रयास गरे। ३७औं मिनेटमा इनेस युनालले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। ४२औं मिनेटमा इनेस युनालले पुनः पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै गेटाफेलाई अग्रता दिलाए ।
पहिलो हाफको इन्जुरी समयमा एन्जल कोरेआले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा खेललाई ३–३ गोलको बराबरीमा ल्याए। ५८औं मिनेटमा एट्लेटिको १० खेलाडीमा समेटियो । विपक्षी मोउरो एरामवारीलाई फल गरेपछि फिलिपे रातो कार्ड पाउँदै बाहिरिएका थिए । तरपनि ८९औं मिनेटमा मारियो हर्माेसोले गोल गर्दै एट्लेटिकोलाई रोचक जित दिलाए । एट्लेटिकोका मार्कोस लोरेन्टे ‘म्यान अफ दि म्याच’ भए ।
जितसँगै एट्लेटिको चौथो स्थानमा उक्लिएको छ । एट्लेटिकोले २३ खेलबाट ३९ अंक बनाएको छ । पराजित गेटाफे २५ अंक सहित १५औं स्थानमा छ। अर्को खेलमा ओसासुनाले रायो भालेकानोलाई ३–० गोलले पराजित गरेको छ । सेल्टा भिगो र काडिजले गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ।