इन्जुरी समयमा लुक डि जोङले गोल गरेपछि स्पेनिस ला लिगामा बार्सिलोना हारबाट जोगिएको छ। आइतबार राति भएको तनावपूर्ण खेलमा बार्सिलोना स्पान्योलसँग २–२ गोलको बराबरीमा रोकिएको हो।
प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाले १० र स्पान्यालले नौ खेलाडीमा खेल सकेको थियो। घरेलु मैदानमा स्पान्योलका सर्गी डार्डेर र राउल डे टोमसले गोल गरे। बार्सिलोनाका पेड्री र लुक डि जोङले गोल गरेका थिए।
खेलमा सुरुवाती अग्रता बार्सिलोनाले लिएको थियो। दोस्रो मिनेटमै पेड्रीले जोर्डी अल्वाको पासमा गोल गर्दै पाहुना टोलीको उत्साह जगाए। त्यसपछि ४०औं मिनेटमा सर्गी डार्डेरले गोल गर्दै खेललाई बराबरीमा ल्याए। उनले राउल डे टोमसको पासमा गोल गरेका थिए।
६४औं मिनेटमा राउल डे टोमसले सर्गीको पासमा गोल गर्दै स्पान्योललाई अग्रता दिलाए। अन्तिम समयमा खेल तनावपूर्ण बन्यो। इन्जुरी समयमा विवादमा उत्रिएपछि बार्सिलोनाका जेरार्ड पिके र स्पान्योलका निको रिवाउडो दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिए। त्यसपछि दुवै टोली १० खेलाडीमा समेटिएका थिए।
इन्जुरी समयकै छैटौं मिनेटमा लुक डि जोङले गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाए। ८८औं मिनेटमा पेड्रीको स्थानमा मैदान छिरेका डि जोङले एडमा ट्राओेरेको पासमा गोल गरेका थिए। लगत्तै मनु मोर्लानेसलाई रेफ्रीले सोझै रातो कार्ड देखाएपछि स्पान्योलले नौ खेलाडीमा खेल सकेको थियो।
बराबरीसँगै बार्सिलोना चौथो स्थानमा उक्लिएको छ। बार्सिलोनाको २३ खेलबाट ३९ अंक छ। समान ३९ अंक बनाएको एट्लेटिको म्याड्रिड गोल अन्तरका आधारमा पाँचौं स्थानमा छ। एक खेल बढी खेलेको स्पान्योल २८ अंक सहित १३औं स्थानमा छ।
आइतबार रातिनै भएको खेलमा तेस्रो स्थानमा रहेको रियल बेटिसले १० खेलाडीमा समेटिएको लिभान्तेलाई ४–२ गोलले हरायो । जितसँगै बेटिसले २४ खेलबाट ४३ अंक बनाएको छ। पराजित लिभान्ते ११ अंक सहित अन्तिममा छ।
दोस्रो स्थानमा रहेको सेभियाको ५० र शीर्षस्थानमा रहेको रियल म्याड्रिडको ५४ अंक छ। अन्य खेलमा सोसिडाडले ग्रानाडालाई २–० तथा अलाभेसले भ्यालेन्सियालाई २–१ गोलले पराजित गरेको छ।