स्पेनिस ला लिगाको मध्यम टोली एथलेटिक बिल्बाओलाई रेलिगेसन जोगाउन संघर्षरत मालोर्काको नमिठो झट्का लागेको छ। सोमबार राति भएको खेलमा बिल्बाओ मालोर्कासँग ३–२ गोलले पराजित भयो।
घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा मालोर्कालाई जिताउन साल्भा सेभिया र एन्जलले गोल गरे। मालोर्काले अर्को गोल बिल्बाओबाट आत्मघाती उपहार पाएको थियो। बिल्बाओका राउल गार्सिया र एलेक्स बेरेङगरले गोल गरेका थिए।
साल्भाले २२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै मालोर्कालाई सुरुवाती अग्रता दिलाए। ३० औं मिनेटमा एन्जलले भेदात मुरीक्वीको पासमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए। त्यसपछि ५९औं मिनेटमा गार्सियाले गोल गर्दै बिल्बाओलाई खेलमा फर्काउने प्रयास गरे ।
६१ औं मिनेटमा एलेक्स बेरेङगरले इकर मुनियनको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। तर ८८औं मिनेटमा बिल्बाओका उनइ सिमोनले आत्मघाती गोल गरेपछि मालोर्काको भाग्य खुलेको थियो।
५५ प्रतिशत बल पोसेसन राखे पनि पहिलो हाफमा गोल गर्न नसक्दा बिल्बाओ हार खेप्न बाध्य भयो। मालोर्काका टेकफुसा कुबो ‘म्यान अफ दि म्याच’ भए ।
हारसँगै आठौं स्थानमा यथावत रहेको बिल्बाओको २४ खेलबाट ३४ अंक छ। विजेता मालोर्का २६ अंक जोड्दै १५औं स्थानमा उक्लिएको छ।
तालिकाको शीर्ष स्थानमा आसिन रियल म्याड्रिडको ५४ अंक छ । दोस्रो स्थानमा रहेको सेभियाको ५०, तेस्रो स्थानमा रहेको रियल बेटिसको ४३ र चौथो स्थानमा रहेको बार्सिलोनाको ३९ अंक छ। समान ३९ अंक बनाएको साविक विजेता एट्लेटिको म्याड्रिड गोल अन्तरका आधारमा पाँचौं स्थानमा छ।