खेलका दौरान टाउकोमा चोट लागेपछि अस्पताल भर्ना भएका फुटबलर मनिष डाँगी डिस्चार्ज भएका छन्।
गत शनिबार सहिद स्मारक ए डिभिजन लिगका दौरान मछिन्द्र फुटबल क्लबका फरवार्ड मनिष घाइते भएका थिए।
उनी मंगलबार अस्पतालबाट डिस्चार्ज भएको मछिन्द्र क्लबले जनाएको छ। मछिन्द्रले मनिष निको हुँदै गएको र चाडैं मैदानमा फर्कन विश्वास गरेको छ।
च्यासलविरूद्धको खेलमा ६१ मिनेटमा मैदान छिरेका मनिष चार मिनेटपछि एक्कासी मैदानमै बेहोस भएका थिए।
६५ मिनेटमा च्यासलका यान्निक केट्चासँग बल हेड गर्ने क्रममा ठोक्किएपछि मनिष मैदानमै ढलेका थिए।
मैदानमा उपलब्ध स्वास्थ्यकर्मीले मैदानमै ६ मिनेट उपचार गरेपछि एम्बुलेन्समा हालेर नजिकैको ब्लुक्रस अस्पतालमा लगिएको थियो।