मछिन्द्र फुटबल क्लबले लगातार दोस्रो सिजन सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको छ।
लिगको एघारौं चरणको खेलमा सातदोबाटो युथ क्लबलाई १-० गोलले पराजित गर्दै मछिन्द्रले उपाधि रक्षा गरेको हो।
मछिन्द्रको जितमा नोर्लान जाहिदले गरेको गोल निर्णायक बन्यो। उनले खेलको ५३ मिनेटमा गोल गरेका थिए। जितसँगै मछिन्द्रले ११ खेलबाट २९ अंक जोड्यो।
दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबसँग हेड टु हेडमा अघि रहेकाले मछिन्द्र च्याम्पियन बनेको हो।
मछिन्द्रले यो सिजनमा एएफसी कपको पहिलो चरणमा प्रतिस्पर्धा गर्दैछ। एएफसी कप २०२२ अन्तर्गत पहिलो चरणको खेल दशरथ रंगशालामा खेल्ने भएको हो।
श्रीलंकाको ब्लु स्टारसँग हुने खेल आगामी अप्रिल ५ मा दशरथ रंगशालामा साँझ ५ बजे हुनेछ। मछिन्द्र पहिलो पटक एएफसी कपका लागि छनोट भएको हो।
जारी सहिद स्मारक ए डिभिजन लिगको सातौं चरणसम्ममा शीर्ष स्थानमा रहने टिमलाई एएफसी कपमा पठाउने अखिल नेपाल फुटबल संघ (एन्फा) को नियमअनुसार मछिन्द्र एएफसी कपमा छनोट भएको हो।
२०७६ मा लिग च्याम्पियन भए पनि मछिन्द्र २०२१ को एएफसी कप खेल्नबाट बञ्चित भएको थियो। एएफसीले क्लब लाइसेन्स नभएका क्लबलाई प्रतियोगिता खेल्न रोक लगाएको थियो। गत वर्ष लाइसेन्स पाएको त्रिभुवन आर्मी क्लबले एएफसी कपमा सहभागिता जनाएको थियो।
यो वर्ष भने आर्मी, मनाङ, मछिन्द्र र एपिएफ गरी चार क्लबले क्लब लाइसेन्स पाएका थिए।
पहिलो पटक एएफसी कप खेल्ने अवसर पाएको मछिन्द्र सन् २००४ मा पहिलो पटक ए डिभिजनमा बढुवा भएको थियो।
यता लिगको अर्को खेलमा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा क्लबले एक एक गोलको बराबरी खेलेका छन्।
बराबरीसँगै आर्मीको दोस्रो हुने सम्भावना कमजोर भएको छ। तेस्रो स्थानको आर्मीको ११ खेलबाट १९ अंक छ। एक खेल कम खेलेको दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबको २० अंक छ।
यता शेर्पा १३ अंकसहित आठौं स्थानमा छ।