११औं चरणको खेलमा महत्वपूर्ण जित निकालेसँगै सशस्त्र प्रहरी बलको एपिएफ क्लब सिजनको ए डिभिजन लिगमा रेलिगेसन खतराबाट मुक्त भएको छ।
एपिएफले बिहीबार दशरथ रंगशालामा भएको खेलमा अंक तालिकाको दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबलाई ३-१ गोलले पराजित गर्यो।
खेलको ३७ मिनेटमा अन्जन विष्टले गोल गर्दै मनाङलाई अग्रता दिलाए। ४० मिनेटमा एपिएफका आसिस लामाले बराबरी गोल फर्काए। ८१ मिनेटमा मनिकुमार लामाले गोल गरेपछि एपिएफले २-१ को अग्रता लियो।
८७ मिनेटमा नवीन लामाले टिमका लागि तेस्रो गोल गरेपछि एपिएफ जिततर्फ अघि बढेको थियो। यता एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा न्युरोड टिम (एनआरटी) ले संकटालाई १-० गोलले पराजित गरेको छ।
एनआरटीका लागि खेलको २८ मिनेटमा स्टेफिन बोनोइङले गोल गरेका थिए।
यससँगै लिगको ११औं चरणको खेल सकिएका छन्। जसमा मछिन्द्र फुटबल क्लबले उपाधि पक्का गरिसकेको छ। शीर्ष स्थानको मछिन्द्रले ११ खेलबाट २९ अंक जोडेको छ।