सहिद स्मारक ए डिभिजन लिगको अन्तिम चरणको खेलअघि महत्वपूर्ण जित निकालेपछि जावालखेल युथ क्लबलाई राहत मिलेको छ।
जावलाखेलले १२औं चरणको खेलमा हिमालयन शेर्पालाई २-१ गोलले पराजित गर्यो।
खेलको १५ मिनेटमा रुपबहादुर लामाको गोलबाट जावालखेलले खेलमा अग्रता लिएको थियो।
७१ मिनेटमा हिमालयन शेर्पाका अमृत श्रेष्ठले बराबरी गोल फर्काएका थिए।
खेल सकिन तीन मिनेट बाँकी छदा जावलाखेलले दोस्रो पटक अग्रता लिन सफल भयो। उसका लागि ओन्गुना जुनियरले गोल गरेका थिए।
जितसँगै नवौं स्थानमा उक्लिएको जावलाखेलको १३ अंक भएको छ। दशौं स्थानमा झरेको शेर्पाको पनि १३ अंक छ। नेपाल पुलिस क्लब ११ अंकसहित ११औं स्थानमा छ।
१२औं स्थानको फ्रेण्ड्स क्लबको १० अंक छ। १३औं स्थानको ब्रिगेड ब्वाइजले ७ अंक जोडेको छ। पुछारको च्यासल युथ क्लब ६ अंक जोड्दै रेलिगेसनमा परिसकेको छ। च्यासलले अन्तिम खेल खेल्न बाँकी छ।
दुई खेल खेल्न बाँकी रहेको ब्रिगेडले भोलि सोमबार सातदोबाटोसँग खेल्दैछ। यो खेलमा जित निकाले नवौं स्थानसम्मका टिमलाई खतरा हुन सक्छ।
भोलिको खेलमा ब्रिगेडले अंक गुमाए पनि पुलिस र फ्रेण्ड्माथि दबाब हुनेछ भने शेर्पा र जावालखेल रेलिगेसनबाट बच्नेछन्।