एएफसी एसियन कप चीन २०२३ को तेस्रो चरणको छनोटमा नेपाल कठिन समूहमा परेको छ।
समूह ‘ए’ मा नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया परेका छन्।
यो समूहका खेल कुवेतमा हुनेछन्। खेलहरू ८ जुनमा सुरु भएर १४ जुनमा सकिनेछन्।
नेपालले आफ्नो पहिलो खेलमा जोर्डनसँग ८ जुनमा कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ। यस्तै नेपालले ११ जुनमा कुवेत र १४ जुनमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ।
समूहमा शीर्ष हुने टिम एसियन कपका लागि छनोट हुनेछ। दोस्रो हुने टिमको पनि छनोट हुने सम्भावना हुनेछ।
तेस्रो चरणमा प्रतिस्पर्धा हुने ६ समूह मध्ये दोस्रो हुने उत्कृष्ट पाँच टिम एसियन कपमा छनोट हुनेछन्।
यसअघि नेपालले गत असारमा दोस्रो चरणमा प्रतिस्पर्धा गरको थियो। पाँच टिम रहेको समूहमा चौथो भएको नेपाल तेस्रो चरणका लागि छनोट भएको थियो।
नेपालले दोस्रो चरणमा पनि कुवेत र जोर्डनसँग प्रतिस्पर्धा गरेको थियो। दुवै टिमसँग नेपाल दुवै लेगको खेलमा पराजित भएको थियो।