ब्राजिलका फुटबल प्रशिक्षक टिटेले यसै वर्ष कतारमा हुने विश्वकपपछि आफू जिम्मेवारीबाट हट्ने बताएका छन्।
पाँच पटकको विश्व विजेता ब्राजिल प्रशिक्षकको जिम्मेवारी लिएदेखि ६० वर्षीयले टिटेले आफ्नो कार्यकालमा ५२ जित, १३ बराबरी र पाँचवटा मात्र हारको सामना गरेका छन्।
आगामी नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुने यस वर्षको विश्वकप प्रतियोगितसहित दुई विश्वकपका लागि उनले ब्राजिललाई छनोट गराए।
टिटेले पोर्चुगाली टेलिभिजन स्पोरटिभीसँगको एक अन्तर्वार्तामा भने, “म विश्वकपसम्म नेतृत्वमा रहनेछु।
“तपाईंलाई ढाँट्ने मसँग कुनै कारण छैन। मैले आफ्नो करियरमा सबै कुरा जितेको छु, हारेको गत विश्वकप मात्र हो ।”
टिटेले क्लब स्तरमा प्रशिक्षण जारी राख्ने कि नराख्ने भन्ने कुरा बताउन चाहेनन्।
पूर्व मिडफिल्डर टिटेले दुई ब्राजिलियाली सेरी ए उपाधि, एक कोपा लिबर्टाडोरेस विजय र फिफा क्लब विश्वकप ट्रफीको जितका लागि नेतृत्व गरेका थिए।