सन् २०१८ मा रूसले विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्दै सबैको ध्यान खिचेको थियो। रूसको फुटबल टिमले सोभियत संघको विघटनपछि पहिलो पटक क्वार्टरफाइनलमा पुगेर इतिहास बनाएको थियो। आयोजकको रूपमा रूसले प्रशंसा समेत बटुलेको थियो।
तर रूसले युक्रेनमाथि पाँच दिनअघि आक्रमण गरेपछि अहिले विश्व खेलकुद रूसको विपक्षमा उभिएको छ। अहिले युरोपियन क्लबले रूसी कम्पनीहरूसँगको सम्बन्धलाई तोडिरहेका छन्।
विश्वभरका खेलाडीहरू र फ्यानहरूले युक्रेनलाई समर्थनको सन्देश पठाइरहेका छन्।
युद्ध जारी रहदासम्म रूसले खेलकुदका अल्पकालीन र दीर्घकालीन प्रतिबन्ध झेल्नु पर्नेछ।
शनिबार पोल्यान्ड र स्विडेनले रूससँग विश्वकप छनोटको प्लेअफ खेल्न अस्वीकार गर्ने बताएका थिए। लगत्तै इंग्ल्यान्ड, वेल्स र चेक रिपब्लिकले पनि रूससँग नखेल्ने निर्णय गरेका थिए।
यसले अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च संस्था फिफा र युरोपियन फुटबल महासंमाथि रूसलाई प्रतिबन्ध लगाउन दबाब परिसकेको छ।
फिफाले आइतबार रूसलाई राष्ट्रिय गान र राष्ट्रिय झण्डाबिना खेल्न निर्देशन दिइसकेको छ। साथै रूसमा कुनै पनि आधिकारीक खेल नहुने र रूसले तेस्रो देशमा खेल्नु पर्ने बताएको थियो।
यो निर्णयलाई छिमेकी देश पोल्यान्डको फुटबल एसोसिएसनले अस्वीकार्य भएको बताइसकेको छ।
रूसले सन् २०२२ को विश्वकप फुटबलको प्लेअफ पोल्यान्डसँग खेल्दैछ। यो खेल जितेमा चेक वा स्वीडेनविरूद्ध खेल हुनेछ। खेल आगामी मार्चमा हुनेछ।
युरोपियन महिला च्याम्पियनसिप आगामी जुलाईमा इंग्ल्यान्डमा हुनेछ। यो प्रतियोगितामा स्विडेन, नेदरल्यान्ड्स, स्विट्जरल्यान्ड र रूस एकै समूहमा छन्।
यसअघि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले प्रयोजक एरोफ्लोटसँगको सहकार्य रद्द गरेको बताएको थियो। एरोफ्लोट रूसको एयरलाइन्स हो।
जर्मन क्लब साल्केले पनि आफ्नो जर्सीबाट रूसको ग्यास कम्पनी ग्याजप्रोमको लोगो हटाउने निर्णय गरेको थियो।
युरोपियन फुटबल महासंघले यो सिजनको च्याम्पियन्स लिगको फाइनल रूसमा नगर्ने निर्णय गरेको थियो। फाइनल अब रूसको सेन्ट पिटर्सवर्गबाट सार्दै फ्रान्सको पेरिसमा हुने भएको छ।
फर्मुला वान रेस पनि रूसमा नहुने भएको छ।
यस्तै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले रूसमा तय भएका प्रतियोगिताहरू अन्तै सार्न खेल महासंघहरूलाई निर्देशन दिइसकेको छ।
युद्धका कारण युरोपियन च्याम्पियन चेल्सीको व्यवस्थापनलाई पनि असर गरिरहेको छ। सन् २००३ मा रसियन धनाढ्य रोमन अब्रामोबिचले चेल्सी किनेका थिए। त्यसयता उनले क्लबमा खर्बौं लगानी गरिसकेका छन्।
रूसले युक्रेनमाथि आक्रमण गरेको भोलिपल्ट ब्रिटेनका एक सांसदले चेल्सीको स्वामित्व अब्रामोबिचबाट खोस्न संसदलाई सुझाव दिएका थिए।
दुई दिनपछि अब्रामोबिचले चेल्सीको च्यारिटेबल फाउन्डेसनका रकम हस्तान्तरण गर्ने बताएका थिए।
अन्तर्राष्ट्रिय पौडी महासंघले रूसमा हुने जुनियर पौडी प्रतियोगिता रद्द गरेको छ।
अन्तर्राष्ट्रिय जुडो महासंघले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई दिइएको मानार्थ अध्यक्षको सम्मान निलम्बन गर्ने निर्णय गरेको छ।
जुडो महासंघले युक्रेनमाथि आक्रमण गरेको भन्दै मानार्थ अध्यक्षको सम्मान निलम्बन गरेको हो।
रूसले युक्रेनमाथि आक्रमण गरेयता युक्रेनको समर्थनमा युरोपका विभिन्न देशमा सञ्चालन भइरहेका खेलका दौरान ब्यानर देखाइएका छन्।
इंग्लिस प्रिमियर लिग खेल्ने क्लबका खेलाडी, प्रशिक्षक र फ्यानलाई खेलका दौरान युक्रेनको झण्डा फहराएर रूसी आक्रमणको विरोध गर्ने अनुमति दिइएको छ।
गत साता युक्रेनका डेनिस मोल्चानोभसँग मिलेर एक टेनिस प्रतियोगिताको डबल्स उपाधि जितेपछि रूसी टेनिस खेलाडी एन्ड्रे रुबलेभले इन्स्टाग्राम मार्फत शान्तिको लागि आह्वान गरेका थिए।