भारतीय फुटबल क्लब दिल्ली एफसीलाई हराउँदै सहिद स्मारक ए डिभिजन लिग क्लब मनाङ मर्स्याङ्दी फुटबल क्लबले खप्तड गोल्डकपमा विजयी सुरुआत गरेको छ।
धनगढी रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा भारतको दिल्ली फुटबल क्लबलाई २–१ गोल अन्तरले हराउँदै मनाङले सर्वाधिक धनराशीको खप्तड गोल्डकपमा सुखद सुरुआत गरेको हो।
मनाङले पुनरागमनमा जितमा अन्जन विष्ट र विमल रानाले एक-एक गोल गरे। दिल्लीका लागि कृष्णले गरेको गोल सान्तवनामा सिमित भएको थियो।
अत्यन्त प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा दुबै टोलीले गोलरहित बराबरी खेलेका थिए। दोस्रो हाफमा आक्रामक रणनीतिका साथ मैदान उत्रिएका दुबै टोलीबीचको प्रतिस्पर्धाको ७१ औं मिनेटमा कृष्णले गोल गर्दै दिल्ली एफसीलाई सुरूआती अग्रता दिलाएका थिए।
तर, ८२ औं मिनेटमा कप्तान अन्जनले गोल गर्दै मनाङलाई १–१ गोलको बराबरीमा ल्याउँदै खेलमा फर्किने संकेत देखाएका थिए। बराबरी पछि थप रोमाञ्चक बनेको खेलको ८५ औं मिनेटमा विमलले गोल गर्दै मनाङलाई २–१ को रोमाञ्चक जित निश्चित गरे।
सुदूरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहने क्लबका अध्यक्ष सुरेश हमालले बताए।
आयोजक सुदूरपश्चिम–११ सहित मनाङ, दिल्ली, हिमालयन शेर्पा क्लब, एनजेजेवाइसी फुटबल क्लब, क्यामरुनको एभेनिर फुटबल क्लब, फ्रेन्ड्स क्लब, बागमती युथ क्लब, न्यूरोड टिम र मच्छिन्द्र फुटबल क्लब रहेका छन्।
नकआउटका आधारमा खेलाइने प्रतियोगिताका विजेताले २१ लाख प्राप्त गर्नेछ । उपविजेताले १० लाख प्राप्त गर्नेछ।
सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने छन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदीयमान खेलाडी र फेयरप्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन्।