सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबलाई एसियाली फुटबल महासंघ (एएफसी) को क्लब लाइसेन्स प्रमाण पत्र हस्तान्तरण गरिएको छ।
शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक कार्यक्रमका बीच सशस्त्र प्रहरी मुख्यालयमा एपिएफलाई एएफसीको प्रमाण पत्र दिएको हो।
केही समयअघि नै एपिएफलाई एएफसीले अन्तर्राष्ट्रिय फुटबल क्लबको मान्यता दिएको भए पनि औपचारिक रूपमा शुक्रबार प्रमाण पत्र हस्तान्तरण गरिएको हो।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले सशस्त्र प्रहरी बलका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई प्रमाण पत्र हस्तान्तरण गरे।
एएफसीले तय गरेका सबै मापदण्ड अनुसारका खेल, भौतिक संरचना, सेवा सुविधालगायत पूरा गरेपछि एपिएफलाई एएफसीले प्रमाण पत्र दिएको थियो।
एएफसीको प्रमाण पत्र पाउने क्लबले अन्तर्राष्ट्रिय मान्यता पाउने, खेलाडीलाई अन्तर्राष्ट्रिय क्लबबाट ल्याउने वा पठाउनेलगायत धेरै अवसरहरू प्राप्त गर्ने गर्दछन्। नेपालमा रहेका १४ वटा ए डिभिजन फुटबल क्लबले यो प्रमाण पत्र लिन खोजेका छन्।
एपिएफसहित हालसम्म चार वटा फुटबल क्लबले यो प्रमाण पत्र लिएका छन्।
कार्यक्रममा मन्तव्य राख्दै एन्फा अध्यक्ष शेर्पाले नेपाली फुटबलको व्यवसायीकरणका लागि यो प्रमाण पत्रले महत्वपूर्ण योगदान राख्ने बताए। उनले प्रमाण पत्र लिएपछि व्यावसायिक हिसाबले फुटबल क्लबलाई व्यवस्थित गर्दै जानुपर्ने र अन्तर्राष्ट्रिय नियम मान्नुपर्ने बताए।
प्रमाण पत्र ग्रहणपछि बोल्दै सशस्त्र प्रहरी महानिरीक्षक खनालले एपिएफ क्लबको पहिचान स्थापित भएको बताए।
‘हामी राष्ट्रिय अन्तर्राष्ट्रिय फुटबल क्लबहरूमा आफ्ना खेलाडी पठाउन र ल्याएर खेलाउन सफल भएका छौं,’ उनले भने।
एपिएफले फुटबलमा अहिले तीन जना विदेशी खेलाडी खेलाइरहेको छ। मालीका दुई र जापानका एक जना खेलाडीले एपिएफ क्लबबाट फुटबल खेलिरहेका छन्।