हिमालयन शेर्पा क्लबले पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ। धनगढी रंगशालामा शनिबार भएको खेलमा नव जनजागृति युवा क्लब सिमरालाई ४–० ले हराउँदै हिमालयनले विजयी सुरुवात गरेको हो।
जितसँगै हिमालयन शेर्पा क्वाटरफाईनल प्रवेश गरेको छ। सेमिफाइनल प्रवेशका लागि शेर्पाले अब आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल सोमबार धनगढी रंगशालामा हुनेछ।
शनिबारको एकतर्फी खेलमा हिमालयनले ३१औं मिनेटमा विकास मेराग्लियाको गोलबाट अग्रता बनायो। उनले डेब्यू खेलमै हिमालयनका लागि गोल गरेका हुन्। यसै वर्ष इटालीबाट नेपाल आएका विकासले च्यासल युथ क्लबबाट ए डिभिजन लिग खेलेका थिए।
मोफसलका लागि उनी हिमालयनमा आबद्ध भएका हुन्। लिगमा गोल गर्न नसकेका विकासले नेपालमा पहिलो गोल पनि खप्तड गोल्डकपमा गरेका छन्।
खेलको ४३ औं मिनेटमा उल्रिच सिवेले गोल गर्दै हिमालयनलाई २–० को अग्रता दिलाए। ५५ औं मिनेटमा उल्रिचले व्यक्तिगत दोस्रो गोल गरेपछि हिमालयन ३–० ले अघि रह्यो। त्यसपछि खेलको ८१ औं मिनेटमा पूर्णबहादुर गुरुङले गोल गर्दै हिमालयनलाई ४–० को जित दिलाए ।
खेलको म्यान अफ द म्याच उल्रिच सिव भए। उनले नगद १० हजार पाए।
खेलपछि प्रतिक्रिया दिदैं हिमालयन शेर्पा क्लबका प्रशिक्षक युगल किशोर राईले उत्कृष्ट खेल प्रदर्शन गरेका कारण सानदार जित निकालेको बताए। ‘विकासले नेपालमा पहिलो गोल गरेको छ, उनी अब्बल खेलाडी हो। उसले आफ्नो क्षमता देखायो। हामीले जुन गोल सक्यौ। त्यसले नै हामीलाई जित दिलायो।’