दाङ घोराहीका २० वर्षीय आकास बुढा मगरले गत महिना राष्ट्रिय फुटबल टिममा डेब्यू गरेका थिए।
एक महिनापछि आकास नेपाल सुपर लिग (एनएसएल) टिम धनगढी फुटबल क्लबसँग आबद्ध हुन सफल भए। उनलाई धनगढी एफसीले गत शुक्रबार अक्सनमार्फत तीन लाख ५० हजार रुपैयाँमा टिममा आबद्ध गर्यो।
अक्सनमा ए श्रेणीका खेलाडीको अधिकत मूल्य तीन लाख ५० हजार रूपैयाँ थियो। त्यसैले उनी एनएसलका महँगा मध्येका एक खेलाडी हुन्।
यसअघि दाङका खेलाडीले उमेर समूहमा राष्ट्रिय टिमबाट खेलेको भए पनि राष्ट्रिय टिममा पर्न सकेका थिएनन्। आकासले भने राष्ट्रिय टिममा स्थान बनाउँदै आफ्नो क्षमता देखाएका छन्।
‘म खुसी नहुने कुरै भएन,’ आकासले भने ‘मलाई भविष्यमा थप मेहनत गर्ने उर्जा मिलेको छ।’
आकासले घोराहीको गोरखा माविमा कक्षा ६ मा पढ्दादेखि नै फुटबल खेल्न सुरु गरेको स्मरण गरे।
‘मलाई सानैदेखि खेलकुदमा रूची थियो,’ उनले भने, 'विद्यालयमा हुने जुनसुकै खेलकुदका गतिविधिमा सहभागी हुन्थे।’
१० कक्षा उत्तीर्ण भएपछि आकास आफ्नो फुटबल सपना पूरा गर्न काठमाडौं गए।
एन्फा एकेडेमीमा भर्ना भए। यू-१६ ट्रायलमा खुला छनोटमा पर्न सफल भए। यू-१६ बाट २०७३ सालमा साफ गेम खेले।
त्यसको दुई वर्षपछि यू-१९ टिमबाट खेल्ने अवसर पाए।
उनले सशस्त्र प्रहरी बलको एपिएफ क्लबबाट ए डिभिजन लिग खेले। त्यो समयमा उनले चोट बेहोरे। ६ महिना आराम गर्नु पर्दा आफू निकै दुःखी बनेको उनले स्मरण गरे।
एनएसएल टिम धनगढीसँग भएपछि घर परिवार, आफन्त र साथी भाइबाट उनलाई बधाइको ओइरो लागेको छ।
‘फोन गरेर बधाइ दिनेहरुको ओइरो छ,’ उनले भने ‘ जिल्लाको नेतृत्व गर्दै पहिलो राष्ट्रिय खेलाडी हुन पाउँदा खुसी छु।’
एउटा खेलाडीको लागि सबैभन्दा ठूलो कुरा अनुशासन र मेहनत आवश्यक पर्ने भन्दै आकासले नआत्तिएर निरन्तर मेहनत गरेकै कारण आफू राष्ट्रिय टिमसम्म पुग्न सफल भएको बताए।
‘खेलाडी बन्न आत्तिनु र मात्तिनु हुन्न,’ आकासले भने ‘असल खेलाडी बन्न कडा मेहनत र अनुशासन चाहिन्छ।’
फुटबलसँगको प्रेमका कारण १२ कक्षा उत्तीर्णपछि 'पढाइ ग्याप' गरेको आकासले बताए। ‘अहिले लगालग गेमहरू आइरहेको छ, त्यसैले अहिले पनि अभ्यासमै छु,’ उनले भने ‘ भविष्यमा फेरि कलेज भर्ना हुन्छु।'
दाङ जिल्ला फूटबल संघका अध्यक्ष सुशील श्रेष्ठले धनगढीमा अनुबन्धित भएसँगै आकास सारा दाङका खेलप्रेमीको ढुकढुकी बन्न सफल भएको बताए।
'आकास आज दाङका लागि सान बन्न सफल भएका छन्,’ श्रेष्ठले भने ‘आकासले थप राम्रो खेलेर आफ्नो नाम आकास जस्तै फराकिलो पार्ने छन्।'