सातदोबाटो युथ क्लब पाँचौँ संस्करणको झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ। एपिएफ फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सातदोबाटोले सेमिफाइनलको यात्रा तय गरेको हो ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको पहिलो क्वार्टरफाइनल खेलमा सातदोबाटोका लागि खेलको ८२औँ मिनेटमा सुशील राईले गोल गरे। लगत्तै ८५औँ मिनेटमा नीरज चौधरीले सातदोबाटोको अग्रतालाई दोब्बर बनाए।
एपिएफका लागि खेलको इन्जुरी समयमा दिपेश धिमालले सान्त्वना गोल फर्काए।
खेलको पहिलो हाफ बराबरीमा टुंगिएको थियो। खेलको छैटौँ मिनेटमा एपिएफका युवराज खड्काले डिबक्सभित्र पाएको बल प्रहार गर्न सकेनन्।
१३ औँ मिनेटमा सातदोबाटोका प्रशान्त अवस्थीको कर्नर प्रहारमा आकाश बुढा मगरले गरेको क्रसर एपिएफका गोलरक्षक युया कुरियामाले बचाउ गरे।
२१ औँ मिनेटमा एपिएफका अर्मोड बेडमले डिबक्सभित्रबाट गरेको प्रहार सातदोबाटोका मार्टिन सिलोले बचाउ गरे।
४६ औँ मिनेटमा सातदोबाटोका सुशील राईले गरेको प्रहार विपक्षी गोलरक्षकले सहजै समाते । ५५ औँ मिनेटमा एपिएफका अर्मोड बेडमको क्रस कप्तान नवीन लामाले मिस गरे।
७४ औँ मिनेटमा एपिएफका युवराज खड्काको हेडर पास्ट नजिकैबाट बाहिरियो ।
सातदोबाटोको जीतका लागि पहिलो गोल गर्ने सुशील राई सोमबारको खेलको म्यान अफ द म्याच भए। उनले नगद ९ हजार ९९९ रुपैयाँ प्राप्त गरे।
मंगलबारको अर्को क्वार्ट फाइनल खेल संकटा क्लब र थ्रीस्टर क्लबबीच हुनेछ। संकटाले नेपाल पुलिस क्लबलाई पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो भने थ्रीस्टार सोझै क्वार्टर फाइनलमा प्रवेश गरेको हो।