सातदोबाटो युथ क्लब झापामा जारी पाँचौं संस्करणको ‘झापा गोल्ड कप’ को सेमिफाइनलमा प्रवेश गरेको छ।
विभागीय टोली एपिएफ फुटबल क्लबलाई २–१ को गोल अन्तरले हराउँदै सातदोबाटो अन्तिम चारमा प्रवेश गरेको हो।
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको पहिलो क्वार्टरफाइनलमा सातदोबाटोलाई जिताउन सुशील राई र निरज चौधरीले गोल गर्दा एपिएफलाई लागि दिपेश धिमालले गोल गरे।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको अन्तिम ८ मिनेटमा तीनै गोल सम्भव भएको थियो।
खेलको ८२ औं मिनेटमा सुशील राईले गोल गर्दै सातदोबाटोलाई सुरूआती अग्रता दिलाए। ८५ औं मिनेटमा नीरज चौधरीले सातदोबाटोको अग्रता दोब्बर बनाए।
एपिएफका लागि खेलको इन्ज्युरी समयमा दिपेश धिमालले गोल गर्दै अन्तर कम गरे पनि हारबाट जोगाउन सकेनन्।
यसअघि खेलको छैठौं मिनेटमा एपिएफका युवराज खड्काले डिबक्सभित्र पाएको उत्कृष्ट मौका खेर फालेका थिए। १३ औं मिनेटमा सातदोबाटोका प्रशान्त अवस्थीको कर्नर प्रहारमा आकाश बुढामगरले गरेको कडा प्रहार एपिएफका गोलरक्षक युया कुरियामाले बचाउ गरेका थिए।
२१ औं मिनेटमा एपिएफका अर्मोड बेडमले डिबक्सभित्रबाट गरेको प्रहार सातदोबाटोका मार्टिन सिलोले बचाउ गरेका थिए।
४६ औं मिनेटमा सातदोबाटोका सुशील राईको प्रहार विपक्षी गोलरक्षकले सहजै समाते। ५५ औं मिनेटमा एपिएफका अर्मोड बेडमको क्रस कप्तान नवीन लामाले गुमाए। ७४ औं मिनेटमा एपिएफका युवराज खड्काको हेडर पोस्ट नजिकैबाट बाहिरिएको थियो।
जीतसँगै सातदोबाटो क्लब पाँचौं संस्करणको झापा गोल्डकपको सेमिफाइनलमा पुगेको छ।
सातदोबाटोको जीतका लागि पहिलो गोल गर्ने सुशील राई सोमबारको खेलको म्यान अफ द म्याच भए । उनले नगद ९ हजार ९९९ रुपैयाँ प्राप्त गरे ।
मंगलबारको अर्को क्वार्टर फाइनल खेल संकटा क्लब र थ्री स्टार क्लबबीच हुने आयोजक समितिका महासचिव गजेन्द्रबहादुर पौडेलले बताए।
संकटाले नेपाल पुलिस क्लबलाई पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो भने थ्रीस्टार सोझै क्वार्टर फाइनलमा प्रवेश गरेको हो।