आगामी चैत पहिलो साता थाइल्याण्ड भ्रमण गर्न लागेको नेपाली फुटबल टोलीका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्।
अल्मुताइरीले थाइल्याण्डको राष्ट्रिय टोली र चोनबुरी एफसीसँगको मैत्रीपूर्ण खेलका लागि बुधबार २५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।
नेपालले चैत १० गते थाइल्याण्डको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ भने चैत १३ गते चोङ्बुरी एफसीसँग खेल्नेछ। दुवै खेल थाइल्याण्डको चोङ्बुरीमा हुनेछ। बन्द प्रशिक्षण बोलाएको प्रारम्भिक टोलीमा अघिल्लो महिना मोरिसससँगको मैत्रीपूर्ण खेलमा टिममा रहेका विशाल श्रेष्ठ, विशाल राई, विमल घर्तीमगर, सुनिल बल, मनिष डाँगी, सुजल श्रेष्ठ, रञ्जित धिमाललगायत महत्वपूर्ण खेलाडीलाई टिममा राखिएको छैन ।
एएफसी कपको तयारीमा रहेका कारण उनीहरूले थाइल्याण्डविरुद्धको खेल गुमाउने भएका हुन् । ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्रले चैत २२ मा एएफसी कप छनोटको प्रारम्भिक चरणअन्तर्गत श्रीलंकाको ब्लूस्टार एफसीसँग खेल्दैछ ।
त्यो खेल जितेमा मछिन्द्रले चैत २९ मा भारतको मोहन बगान एफसीसँग खेल्नुपर्नेछ। रोहित चन्द भने राष्ट्रिय टिममा फर्किएका छन् । उनले अघिल्लो महिना भएको मोरिससविरुद्धको खेल गुमाएका थिए ।
फिफा वरीयतामा नेपाल १६७ औं स्थानमा छ भने थाइल्यान्ड ११२ औं स्थानमा छ।
पछिल्लो पटक नेपाल र थाइल्यान्डबीच सन् २००८ मा प्रतिस्पर्धा भएको थियो। सो खेलमा नेपाललाई थाइल्यान्डले ७-० को फराकिलो अन्तरले पराजित गरेको थियो।
नेपालले एएफसी एसियन कप चीन २०२३ को तेस्रो चरणको छनोटको तयारीका लागि थाइल्यान्ड भ्रमण गर्न लागेको हो।
छनोटमा नेपाल कठिन समूहमा छ। समूह ‘ए’ मा नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया रहेका छन्।
यो समूहका खेल कुवेतमा हुनेछन्। खेलहरू ८ जुनमा सुरु भएर १४ जुनमा सकिनेछन्।
नेपालले आफ्नो पहिलो खेलमा जोर्डनसँग ८ जुनमा कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ। यस्तै नेपालले ११ जुनमा कुवेत र १४ जुनमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ।
थाइल्यान्ड भने समूह 'सी' मा छ। यो समूहमा थाइल्यान्डसँगै उज्वेकिस्तान, माल्दिभ्स र श्रीलंका छन्।
समूहमा शीर्ष हुने टिम एसियन कपका लागि छनोट हुनेछ। दोस्रो हुने टिमको पनि छनोट हुने सम्भावना हुनेछ।
तेस्रो चरणमा प्रतिस्पर्धा हुने ६ समूह मध्ये दोस्रो हुने उत्कृष्ट पाँच टिम एसियन कपमा छनोट हुनेछन्।
यसअघि नेपालले गत असारमा दोस्रो चरणमा प्रतिस्पर्धा गरको थियो। पाँच टिम रहेको समूहमा चौथो भएको नेपाल तेस्रो चरणका लागि छनोट भएको थियो।
नेपालले दोस्रो चरणमा पनि कुवेत र जोर्डनसँग प्रतिस्पर्धा गरेको थियो। दुवै टिमसँग नेपाल दुवै लेगको खेलमा पराजित भएको थियो।
बन्द प्रशिक्षणमा बोलाएका खेलाडी :
किरणकुमार लिम्बु (कप्तान/गोलरक्षक), टिकेन्द्र थापा (गोलरक्षक), दीप कार्की (गोलरक्षक), आशिष लामा, आयुष घलान, अनन्त तामाङ, अञ्जन विष्ट, अरिक विष्ट, प्रशान्त अवस्थी, नवीन गुरुङ, दर्शन गुरुङ, नितिन थापा, दिनेश राजवंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सन्तोष तामाङ, आकाश बुढा मगर, सुमन अर्याल, सुमन लामा, सुदीप गुरुङ, सुरज ज्यू ठकुरी, तेज तामाङ, सुवास गुरुङ, रोहित चन्द र जगजीत श्रेष्ठ।