बेलायतले बिहीबार रोमन अब्रामोविचसहित सात रूसी व्यापारीको सम्पत्ति रोक्का गरेको बताएको छ।
जसमा अब्रामोविचसहित इगोर सेचिन, ओलेग डेरिपास्का, एन्ड्रे कोस्टिन, अलेक्सी मिलर, निकोलाई टोकरेभ र दिमित्री लेबेदेव प्रतिबन्धको सूचीमा छन्।
अब्रामोविच इंग्लिस क्लब चेल्सीका मालिक हुन्।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले प्रतिबन्धको विषयमा भनेका छन् 'युक्रेनमा पुटिनको आक्रमणलाई समर्थन गर्नेहरूका लागि यहाँ कुनै आश्रय हुन सक्दैन।'
गत साता अब्रामोविचले झन्डै २० वर्षदेखि आफ्नो स्वामित्वमा चेल्सी बेच्न चाहेको बताएका थिए। उनले बिक्रीबाट प्राप्त हुने आम्दानी 'युक्रेनमा युद्धका सबै पीडितहरूलाई" दान गर्ने समेत बताएका थिए।
उनले युक्रेनमा रूसको आक्रमणको बीचमा यो निर्णय 'क्लबको सर्वोत्तम हितमा' भएको बताएका थिए।
अब प्रतिबन्धका कारण ३ बिलियन पाउन्ड अनुमानित मूल्य भएको चेल्सी बिक्री गर्न पाइने छैन।
अब्रामोविचको अब बेलायतमा सम्पत्ति फ्रिज हुनेछ। यस्तै उनले बेलायतका व्यक्ति र व्यवसायहरूसँगको लेनदेनमा प्रतिबन्ध साथै यात्रा प्रतिबन्धको सामना गर्नुपर्नेछ।
यो निर्णयले चेल्सी फुटबल क्लबमा प्रभाव पार्नेछ। तर विशेष इजाजतपत्रले यसलाई सञ्चालन जारी राख्न सक्षम बनाउने बताइएको छ।