फ्रेन्ड्स क्लब पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
धनगढी रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा बागमति युथ क्लबलाई २–१ गोल अन्तरले हराउँदै फ्रेन्ड्स उपाधि नजिक पुगेको हो ।
गोल्डकपको फाइनल खेल शनिबार धनगढी रंगशालामा हुनेछ। फ्रेन्ड्सले उपाधिका लागि मनाङसँग प्रतिस्पर्धा गर्नेछ।
मनाङले हिमालयन शेर्पालाई हराएर फाइनल पुगिसकेको छ। पहिलो सेमिफाइनलमा हिमालयन शेर्पालाई पेनाल्टीमा ४–२ गोल अन्तरले हराउँदै मनाङ फाइनल प्रवेश गरेको थियो।
फ्रेन्ड्सलाई फाइनल पुराउनका लागि जमोउल एन्थोनी फ्रान्कोईस र राजीब लोप्चनले एक-एक गोल गरे। बागमतिका ड्याडी वाम्बा जुनियरले एक गोल फर्काए।
खेलको ६४ औं मिनेटमा एन्थोनीले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाए। खेलको ७१ औं मिनेटमा राजीबले गोल गर्दै फ्रेन्ड्सलाई २–० ले अघि बढाए।
८३ औं मिनेटमा जुनियरले गोल गरे पनि बागमती २–१ ले पराजित भयो। खेलमा उत्कृष्ट प्रदर्शन गरेका फेन्ड्सका श्याम केपछाकी प्लेयर अफ द म्याच भए। उनले नगद १० हजार पाए।
खेलपछि प्रतिक्रिया दिदैं फ्रेन्ड्सका प्रशिक्षक मिगेन्द्र मिश्रले फइईनल पुग्ने लक्ष्य बोकेर आएको र त्यसका लागि खेल्दा जित्न सफल भएको बताए।
‘बागमतिले पनि राम्रो खेलेको थियो। उनीहरुलाई अनुभवको कमि थियो। हामीले त्यसको फाइदा उठायौ। हामीलाई इज्जतका लागि पनि जित्नुपर्ने दबाब थियो,’ प्रशिक्षक मिश्रले भने– ‘पहिलो हाफमा हामीले गोल खाने अवस्था पनि थियो। त्यो वागमतिले विगारेपछि हामीले रणनिति चेन्ज गर्यौ। अब हामी उपाधि जित्छौ। २१ लख लिएरै जाने हो।’