पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनल शनिबार धनगढीमा हुँदैछ। उपाधिका लागि पूर्वच्याम्पियन मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुँदैछ।
मनाङ गोल्डकपमा पाचौं संस्करणसम्म सहभागी रहेको छ। पहिलो संस्करणको च्याम्पियन मनाङ दोस्रो पटक उपाधि जित्ने दाउमा रहेको छ। फेन्ड्स भने पहिलो पटक गोल्डकपमा सहभागी भएको हो। पहिलो सहभागितामा उपाधि जित्ने धुनमा फ्रेन्ड्स रहेको छ।
मनाङका कप्तान अञ्जन विष्टले फाइनलमा आफूलाई कुनै दबाव नभएको र नकआउट प्रतियोगितामा जस्तो विपक्षी भए पनि जितका लागि खेल्ने बताए।
साथै उनले प्रतियोगिता अगाडी धनगढी रंगशाला पुग्दा मैदानको अवस्था देखेर आफूलाई केहि चिन्ता लागे पनि ग्राउण्ड स्टाफले मैदानलाई व्यवस्थापन गरेकोमा उनीहरुलाई धन्यवाद दिए। साथै अञ्जनले हरेक खेलमा जितका लागि मैदानमा उत्रिएको र फाइनलमा पनि आफुहरु दबाब बिना खेल्ने बताए।
‘नकआउट प्रतियोगिताको सबै खेल फाइनल सरह नै हो। हामीलाई दर्शकको पनि साथ छ। हामी फाइनल जित्छौ,’ कप्तान अन्जनले भने–‘लिग र नकआउट फरक प्रतियोगिता हो। एक पटक हारेमा टुर्नामेन्ट नै सकिन्छ। त्यहीँ भएर फाइनल जित्ने गरी उत्कृष्ट फुटबल खेल्छौ।’
मनाङका प्रशिक्षक राजेन्द्र तामाङले खप्तड गोल्डकपको उपाधि जितेको खण्डमा आफूहरुलाई लिगमा भोगेको नजितामा केहि हदसम्म मलम लागउने मौका हुने बताए। साथै उनले खेलाडीलाई केहि दिन आराम मिलेकाले पनि फाइनलमा अझ राम्रो प्रदर्शन गर्ने बताए।
फ्रेन्ड्सका प्रशिक्षक मृग्रेन्द्र मिश्रले कम्तीमा ७२ घण्टाको आराम पाएको खण्डमा खेलाडीले बढी आराम पाउने भए पनि आफूहरु फाइनलका लागि तयार रहेको बताए । उनले मनाङ बलियो टिम रहेको र अहिले फ्रेन्ड्स टिम पनि राम्रो रहेको बताए। तर फाइनलमा आफूहरु जितका लागि नै खेल्ने बताए।
ए डिभिजन लिगमा मनाङ र फ्रेन्ड्स भिड्दा मनाङ विजयी भएको थियो। खप्तड गोल्डकपमा फ्रेन्ड्सले सेमिफाइनलमा बागमति युथ क्लवलाई हराएको थियो भने मनाङले हिमालयन शेर्पालाई हराएको थियो।
आयोजक सुदुरपश्चिम–११ स्पोर्ट्स क्लब धनगढीले आयोजना गरेको प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ। उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ।
सर्वोत्कृष्ट खेलाडीले एक लाख पाउँनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षक सहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन्। प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ।