नेपाल सुपर लिग (एनएसएल) र ए डिभिजन फुटबल क्लबबीचको विवाद अझै समाधान हुन सकेको छैन।
यसअघि एनएसएलको अक्सन रोक्न भनिए पनि तोकिएको मितिमा अक्सन भएपछि ए डिभिजन क्लबहरू असन्तुष्ट छन्।
आफ्नो क्लबमा आबद्ध खेलाडीहरूको सम्झौता बाँकी रहेकै अवस्थामा एनएसएल टिममा आबद्ध गरेकोमा ए डिभिजन क्लबको आपत्ति जनाएका थिए।
आइतबार न्युरोड टिम (एनआरटी) का अध्यक्ष सुन्दर नरसिंह जोशी, मनाङ मर्स्याङ्दी क्लबका उपाध्यक्ष कर्माछिरिङ गुरुङ र महासचिव तेन्जिङ गुरुङ, थ्रीस्टार क्लबका उपाध्यक्ष कृष्ण अवाले तथा महासचिव सन्जिव शिल्पकार, संकटा क्लबका कार्यवहाक अध्यक्ष सुरेन्द्र सिख्राकार पत्रकार सम्मेलन गर्दै थप असन्तुष्टि प्रकट गरेका हुन्।
उनीहरूले ए डिभिजन क्लबहरुको अस्तित्वलाई नै समाप्त पार्ने खालको षड्यन्त्रसहित आभाषसहित आफूसँग खेलाडीको अनुबन्धन बाँकी रहेको अवस्थामा खेलाडी बोलकबोल नगर्न र कसैलाई गर्न नदिनु भन्ने आशयले अनुरोध र चेतावनी सहितको पत्र सामाजिक संजाल मार्फत र एन्फा कार्यालयमा दिइ सचेत गराएका स्मरण गरेका छन्।
त्यसपछि एन्फाको क्यालेण्डरमा नसमेटिएको प्रतियोगिता एन्फाको आकस्मिक बैठकबाट रोक्नु भन्ने निर्णय गरि एन्फाका महासचिवको हस्ताक्षरबाट गरेको आधिकारिक आदेशलाई नै अटेरी गर्दा फूटबल क्लबहरु अहिले त्रसित बनेको उनीहरूको भनाइ छ।
बोलकबोल रोक्नु भनि एन्फाले पठाएको पत्रलाई आधिकारिक पत्र नमान्ने केन्द्रीय सदस्यलाई समेत कुनै कारवाहि नगर्नु, एन्फा अध्यक्षको एकल हस्ताक्षर र विना मितिको सम्झौता पत्र र एन्फाका अन्य पदाधिकारीहरुबाट अनभिज्ञता प्रकट गरेको पनि क्लबहरूले आश्चय प्रकट गरेका छन्।
सम्झौता सबैबाट लुकाएर राख्नु, एन्फा क्यालेण्डरमा रहेको राष्ट्रिय लिग गर्न नचाहनु, अहिले भइरहेको मोफसल प्रतियोगिताहरुलाई बेवास्ता गर्नु र एएफसी कपलाई समेत प्रभावित पार्ने खालका गतिविधि एन्फा नेतृत्वले गरेको भन्दै उनीहरूले खेद प्रककट गरेका छन्।
ए, बी र सी डिभिजनका क्लब, जिल्ला फुटबल संघको भविष्य पनि समाप्त हुन सक्ने आशंका रहेकोले यथासिघ्र एन्फा पदाधिकारीहरुको बैठक बसी क्लबहरुलाई आश्वस्त पार्न उनीहरूले एन्फा नेतृत्वलाई सचेत गराएका छन्।