तेस्रो संस्करणको साफ यू-१८ महिला च्याम्पियनसिप आजदेखि भारतमा सुरू हुँदैछ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले घरेलु टिम भारतसँग प्रतिस्पर्धा गर्नेछ। खेल राति ७:१५ मा सुरू हुनेछ।
प्रतियोगिताका लागि नेपालले एक महिना तयारी गरेको थियो। बलिया टिमसँग प्रतिस्पर्धा गर्दै नेपाल उपाधि जित्ने लक्ष्यमा छ।
प्रतियोगितामा आयोजक भारत, नेपाल र बंगलादेश गरी तीन टिमले भारतको जम्शेदपुरमा भिड्दैछन्।
दोस्रो खेलमा नेपालले मार्च १७ मा बंगलादेशको सामना गर्नेछ।
यस्तै मार्च २१ मा फेरि भारतसँग खेल्दा मार्च २३ मा बंगलादेशसँग खेल्ने तालिका रहेको छ।
शीर्ष टोलीले उपाधि जित्नेछ। नेपाली टिमको मुख्य प्रशिक्षक दर्शन भक्तराज लावत छन्। टिमको सहायक प्रशिक्षकमा भगवती थापा रहँदा गोलकिपिङ प्रशिक्षकमा श्रीप्रकाश वैद्य रहेका छन्।
सन् २०१८ मा भुटानमा भएको पहिलो प्रतियोगिताको सेमिफाइनलमा भारतलाई हराएको नेपाली टिम फाइनलमा बंगलादेशसँग पराजित भएपछि उपाधिबाट बन्चित भएको थियो।
२३ सदस्यीय नेपाली टोली
सावित्री किसान (गोलरक्षक), लिला जोशी (गोलरक्षक), पुजा थापा (गोलरक्षक), सविना चौधरी, मन्जु कुमारी खड्का, प्रतिक्षा चौधरी, कुमारी तामाङ, प्रिया बस्नेत, दिव्या यस्माली मगर, दीपा शाही, हिमा रावत, सरस्वती हमाल, प्रीति राई (कप्तान), सुनकला राई, अन्जली मचामासी, सराह बज्राचार्य, जेनिफर राना, सरिश्मा थापा, सदिपा भोलान, कुसुम खतिवडा, अमिशा कार्की, मनमाया दमाई र गरिमा राई।