युरोपियन च्याम्पियन्स लिगको सिजनमा क्वार्टरफाइनलमा पुग्ने ६ टिमको टुंगो लागेको छ।
मंगलबार राति भएको खेलमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिड र पोर्चुगिज क्लब बेन्फिकाले अन्तिम आठमा स्थान पक्का गरेसँगै क्वार्टरफाइनलमा पुग्ने ६ टिमको टुंगो लागेको हो।
एट्लेटिकोले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई समग्रमा २-१ ले हराएर अन्तिम आठमा स्थान पक्का गर्यो।
यस्तै पोर्चुगिज क्लब बेन्फिकाले नेदरल्यान्ड्सको अयाक्सलाई समग्रमा ३-२ ले पछि पार्यो।
यसअघि जर्मन क्लब वायर्न म्युनिखले अस्ट्रियाको रेड बुल साल्जवर्गलाई, इंग्लिस क्लब म्यानचेस्टर सिटीले पोर्चुगिज क्लब स्पोर्टिङलाई, अर्को इंग्लिस क्लब लिभरपुलले इटालियन क्लब इन्टर मिलानलाई र स्पेनिस क्लब रियल म्याड्रिडले फ्रेन्च क्लब पिएसजीलाई पछि पार्दै अन्तिम आठमा स्थान बनाएका थिए।
अब इंग्लिस क्लब चेल्सी र फ्रेन्च क्लब लिल तथा स्पेनिस क्लब भिल्लारियल र इटालियन क्लब युभेन्ट्सबीचको खेलपछि अन्तिम आठमा पुग्ने दुई टिमको टुंगो लाग्दैछ।
दोस्रो लेग आज राति हुँदैछ। पहिलो खेलमा चेल्सीले लिललाई २-० ले हराउँदा भिल्लारियल र युभेन्ट्सले १-१ गोलको बराबरी खेलेका थिए।
अन्तिम आठमा पुग्ने सबै टिमको टुंगो लागेपछि मार्च १८ मा क्वार्टरफाइनलको ड्र हुनेछ। क्वार्टरफाइनलको पहिलो लेग ५ र ६ अप्रिल तथा दोस्रो लेग १२ र १३ अप्रिलमा हुनेछ।
अन्तिम आठमा स्थान पक्का गरिसकेका ६ टिम
लिभरपुल, म्यानचेस्टर सिटी, वायर्न म्युनिख, बेन्फिका, एट्लेटिको म्याड्रिड, रियल म्याड्रिड