युरोपियन च्याम्पियन्स लिगको सिजनमा क्वार्टरफाइनलमा पुग्ने ८ वटै टिमको टुंगो लागेको छ। जसमा इंग्ल्यान्ड र स्पेनका तीन तीन क्लबले स्थान पक्का गरेका छन्।
यस्तै जर्मनी र पोर्चुगलका एक-एक क्लबले क्वार्टरफाइनलमा स्थान बनाएका छन्।
बुधबार राति भएको खेलमा इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब भिल्लारियलले अन्तिम आठमा स्थान पक्का गरेसँगै क्वार्टरफाइनलमा पुग्ने सबै टिमको टुंगो लागेको हो।
चेल्सीले फ्रेन्च क्लब लिललाई समग्रमा ४-१ र भिल्लारियलले इटालियन क्लब युभेन्ट्सलाई समग्रमा ४-१ ले नै पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरे।
मंगलबार स्पेनिस क्लब एट्लेटिको म्याड्रिड र पोर्चुगिज क्लब बेन्फिकाले अन्तिम आठमा स्थान पक्का गरेका थिए।
एट्लेटिकोले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई समग्रमा २-१ ले हराएर अन्तिम आठमा स्थान पक्का गर्दा बेन्फिकाले नेदरल्यान्ड्सको अयाक्सलाई समग्रमा ३-२ ले पछि पार्यो।
यसअघि जर्मन क्लब वायर्न म्युनिखले अस्ट्रियाको रेड बुल साल्जवर्गलाई, इंग्लिस क्लब म्यानचेस्टर सिटीले पोर्चुगिज क्लब स्पोर्टिङलाई, अर्को इंग्लिस क्लब लिभरपुलले इटालियन क्लब इन्टर मिलानलाई र स्पेनिस क्लब रियल म्याड्रिडले फ्रेन्च क्लब पिएसजीलाई पछि पार्दै अन्तिम आठमा स्थान बनाएका थिए।
अन्तिम आठमा पुग्ने सबै टिमको टुंगो लागेसँगै मार्च १८ मा क्वार्टरफाइनलको ड्र हुनेछ। क्वार्टरफाइनलको पहिलो लेग ५ र ६ अप्रिल तथा दोस्रो लेग १२ र १३ अप्रिलमा हुनेछ।
अन्तिम आठमा स्थान पक्का गरेका ८ टिम
लिभरपुल, म्यानचेस्टर सिटी, चेल्सी, वायर्न म्युनिख, बेन्फिका, एट्लेटिको म्याड्रिड, रियल म्याड्रिड, भिल्लारियल