भारतमा जारी साफ यू-१८ महिला च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ।
भारतको जमसेदपुरमा बिहीबार भएको खेलमा बंगलादेशसँग ४-२ ले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो।
बंगलादेशका लागि अफिदा खानडकार, अक्लिमा खातुन, इटि खातुन र साहदा अख्तर रिपाले एक-एक गोल गरेकी थिइन्।
नेपालका लागि दिपा शाही र अमिशा कार्कीले एक-एक गोल फर्काए।
खेलको पहिलो मिनेटमा नै अफिदा खानडकारले गोल गर्दै बंगलादेशको सुरुवाती अग्रता बनाएको थियो। खेलको ३०औं मिनेटमा दीपा शाहीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याइन्।
३३औं मिनेटमा अक्लिमा खातुनले गोल गर्दै बंगलादेशलाई खेलमा २–१ ले अघि बढाइन्। लगत्तै ३४औं मिनेटमा इटि खातुनले गोल गरेपछि बंगलादेश खेलमा ३–१ ले अघि बढ्यो।
४३औं मिनेटमा शाहदा अख्तर रिपाले गोल गर्दा बंगलादेशले पहिलो हाफमै ४–१ को अग्रता लियो।
दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरे पनि नेपालले गोल गर्न सकेन। खेलको इन्न्युरी समयको थप गरिएको तेस्रो मिनेटमा अमिशा कार्कीले गोल गर्दै खेललाई ४–२ को अवस्थामा ल्याए पनि नेपालको हार टार्न सकिनन्।
लगातार दोस्रो हारसँगै नेपालको उपाधि जित्ने सम्भावना झिनो बनेको छ । नेपाल दुई खेल खेल्दा अंक बिहीन हुदै पुछारमा छ । भारत र बंगलादेशले समान ३ अंक जोडेका छन् । गोलअन्तरमा भारत शीर्ष तथा बंगलादेश दोस्रोमा छ ।
यसअघि पहिलो खेलमा नेपालले घरेलु टोली भारतसाग ७–० को फराकिलो हार बेहोरेको थियो ।
डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ।
नेपालले मार्च २१ मा फेरि भारतसँग खेल्दा नेपालले मार्च २३ मा बंगलादेशसँग खेल्ने तालिका छ। शीर्ष टोलीले उपाधि जित्नेछ।