कुसुन्तीस्थित माछापुच्छ्रे स्कुलले राष्ट्रिय फुटबल टोलीका प्रभावशाली खेलाडी अन्जन विष्टलाई माछापुच्छ्रे स्पोर्ट्स ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ।
सो सम्बन्धी सम्झौता पत्रमा माछापुच्छ्रेका अध्यक्ष डा. विनोदप्रसाद यादव र अन्जनले शनिबार एक कार्यक्रमबीच हस्ताक्षर गरे। कार्यक्रममा राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान समेत रहेका अखिल नेपाल फुटबल संघका उपाध्यक्ष उपेन्द्रमान सिंहलगायतको उपस्थिति थियो। दुई वर्षका लागि अञ्जनलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रममा अन्जनले माछापुच्छ्रेसँग जोडिन पाउँदा खुशी लागेको बताउदै स्कुलसंग हातेमालो गरेर अगाडि बढ्ने बताए । उनले स्कुलले सञ्चालन गर्ने स्पोर्ट्स एकेडेमीलाई अगाडि बढाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउदै आफूलाई सम्झेकोमा धन्यवाद दिए।
अध्यक्ष यादवले अन्जन जस्तो दिग्गज खेलाडीलाई अनुबन्ध गर्न पाउँदा सिंगो विद्यालय परिवारले गर्वको अनुभुति गरेको बताउदै स्कलुले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको बताए।
पूर्व कप्तान सिंहले खेलाडीलाई अवसर दिएकोमा माछापुच्छ्रेलाई धन्यवाद दिदै अन्जनलाई बधाइ दिए। उनले यस्ता कार्यले अन्य विद्यालयलाई पनि खेलाडीलाई स्थान दिन प्रेरित गर्ने धारणा व्यक्त गरे।
एन्फा एकेडेमीका उत्पादन अन्जन मनाङ मस्र्याङ्दीका कप्तान हुन्। अन्जन नेपाल सुपर लिगको दोश्रो संस्करणमा सहभागी हुने नवप्रवेशी टिम झापा एफसीका मार्की खेलाडी हुन्।