भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिपमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ।
उपाधि होडबाट बाहिरिएको नेपालले सोमबार घरेलु टोली भारतसँग ५–१ को फराकिलो हार व्यहोरेको हो।
भारतको जमसेदपुरस्थित जेआरडी टाटा कम्प्लेक्समा भएको खेलमा भारतको फराकिलो जितमा लेन्डा कोम सेर्टोले ह्याट्रिक पुरा गर्दा सिल्की देवी हेमाम र अनिता कुमारीले समान एक- एक गोल गरिन्। नेपालकी सन्दिपा भोलानले एक गोल फर्काइन्।
भारतले खेलको १६औं मिनेटमा सिल्की देवी हेमामको गोलबाट सुरूवाती अग्रता लियो। २३ औं मिनेटमा लेन्डा कोम सेर्टोले गोल गर्दै भारतको अग्रता दोब्बर पारिन्। ३८औं मिनेटमा लेन्डा कोम सेर्टोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि भारत पहिलो हाफमा ३–० ले अघि बढ्यो।
दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरेको नेपालमाथि भारतले दबाब कायमै राख्यो। ५६ औं मिनेटमा अनिता कुमारीले गोल गर्दै भारतलाई ४–० को अग्रता दिलाइन्। त्यसको ५ मिनेटपछि लेन्डा कोम सेर्टोले ह्याट्रिक पुरा गर्दा भारतले ५–० ले अग्रता लियो।
खेलको ७९ औं मिनेटमा सन्दिपा भोलानले गोल गर्दै खेललाई ५–१ को अवस्थामा ल्याए पनि त्यसपछि थप गोल निस्कन नसक्दा भारतले लगातार तेस्रो जित तथा नेपालले तेस्रो हार बेहोर्न पुग्यो।
लगातार तेस्रो हारसँगै नेपालको उपाधि जित्ने सम्भावना सकिएको छ। नेपालमाथिको जितसँगै भारतको च्याम्पियन बन्ने सम्भावना बलियो बनेको छ। भारतले तीन खेलबाट ९ अंक जोडेको छ। अब भारतले आफ्नो अन्तिम खेलमा बंगलादेशलाई बराबरीमा रोके पनि च्याम्पियन बन्नेछ। नेपालले अंकको खाता खोल्न सकेको छैन।
बंगलादेशको २ खेलबाट ३ अंक छ। बंगलादेशलाई च्याम्पियन बन्न नेपाललाई हराउँदै अन्तिमा खेलमा भारतलाई पनि फराकिलो अन्तरले हराउनुपर्ने हुन्छ।
राउन्ड रोविन लिगको पहिलो खेलमा नेपाल भारतसँग ७–० ले पराजित भएको थियो। यस्तै दोस्रो खेलमा बंगलादेशसँग ४-२ गोल अन्तरमा पराजित भएको थियो।
नेपालले राउन्ड रोविनको अन्तिम खेलमा २३ मार्चमा बंगलादेशसँग खेल्नेछ ।
डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ। शीर्ष टोलीले उपाधि जित्नेछ ।