नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिता चैत अन्तिम सातादेखि हुने निश्चित भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले एनएसएललाई चैत २५ देखि जेठ १ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न अनुमति दिएको हो।
यसअघि ए डिभिजन क्लबहरूले एनएसएल टिममा आफूसँग आबद्ध खेलाडी भएको विषयमा असन्तुष्टि जनाएका थिए। साथै एनएसएल टिमलाई क्लव सरहकै मान्यता दिएको विषयमा पनि उनीहरू संशकित थिए।
क्लबको असन्तुष्टि र एन्फाको पत्रविपरित एनएसएलले अक्सन आयोजना गरेको थियो। यो विषयमा एन्फाले एनएसएलसँग स्पष्टिकरण समेत सोधेको थियो।
गत चैत ३ गतेको एन्फा कार्यसमिति बैठकले अध्यक्ष कर्माछिरिङ शेर्पाको संयोजकत्वमा एनएसएल विवादको समाधानका लागि कार्यदल गठन गरेको थियो।
कार्यदलले एनएसएल आयोजना गर्न दिने निर्णयसहित एन्फा र एनएसएलबीच भएको सम्झौता स्वत: रद्द हुने, खेलाडी आबद्ध गर्दा ए डिभिजन क्लबसँग अपसी समझदारी हुनु पर्ने तथा खेलाडी र क्लब दर्ता एनएसएलले नै गर्ने निर्णय गरेको छ। एन्फाले एनएसएलका लागि खेलाडी तथा क्लब दर्ता नगर्ने भएको छ।
चौधरी ग्रुपअन्तर्गको नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट कम्पनी एनएसएलको आयोजक हो।
विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी र तीन नयाँ टोली झापा एफसी, वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम डि मेची रहेका छन्।