सुरूवाती अग्रता जोगाउन नसक्दा नेपालले भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिपमा लगातार चौथो हार व्यहोरेको छ।
राउन्ड रोविनको अन्तिम खेलमा नेपाल बंगलादेशसँग बुधबार २–१ गोल अन्तरले पराजित भएको हो ।
भारतको जमसेदपुरस्थित जेआरडी टाटा कम्प्लेक्समा भएको खेलको नेपालले चौथो मिनेटमै अग्रता लिएको थियो। अमिशा कार्कीले गोल गर्दै नेपाललाई सुरूआती अग्रता दिलाइन्। पहिलो हाफसम्म कायम राखेको अग्रता नेपालले दोस्रो हाफमा जोगाउन सकेन।
खेलको ६८औं मिनेटमा सामसुननाहारले बंगलादेशका लागि गोल गर्दै खेल बराबरीमा ल्याइन्। त्यसपछि ८४औं मिनेटमा साहादा अख्तर रिपाले गोल गर्दै बंगलादेशलाई २–१ को पूनरागमन जित दिलाइन्।
यो जितसँगै बंगलादेश उपाधि होडमा कायमै रहँदा नेपाल भने अंकबिहीन हुँदै च्याम्पियनसिपबाट घर फर्किएको छ।
यो हारसँगै नेपाल प्रतियोगितामा चार खेल खेल्दा अंक विहीन बन्न पुग्यो।
नेपाल पहिलो खेलमा आयोजक भारतसँग ७–०, बंगलादेशसँग ४–२ र पुनः भारतसँग ५–१ ले पराजित भएको थियो।
अब शुक्रबार हुने भारत र बंगलादेशबीचको अन्तिम खेलबाट उपाधिको छिनोफानो हुनेछ।
अपराजित रहेको भारतको ३ खेलबाट ९ अंक छ। बंगलादेशको ३ खेलबाट ६ अंक छ। बंगलादेशलाई च्याम्पियन बन्न अन्तिम खेलमा कम्तीमा पनि २–० भन्दा बढीको जित निकाल्नुपर्ने हुन्छ। भारतलाई च्याम्पियन बन्न बराबरी नै पर्याप्त हुनेछ।
च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ ।