नेपालले आज फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा थाईल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ।
फिफा वरीयतामा आफूभन्दा निकैमाथि रहेको बलियो टोली थाइल्यान्डविरूद्ध नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
थाइल्याण्डको चोनबुरीमा हुने खेल नेपाली समयअनुसार आज साँझ पौने ६ बजेबाट सुरू हुनेछ।
हाल थाइल्यान्ड फिफा वरियताको एक सय १२ औं स्थानमा छ भने नेपाल एक सय ६७ औं स्थानमा छ।
पछिल्लो पटक नेपाल र थाइल्यान्डबीच सन् २००८ मा प्रतिस्पर्धा भएको थियो। सो खेलमा नेपाललाई थाइल्यान्डले ७-० को फराकिलो अन्तरले पराजित गरेको थियो।
आगामी जुनमा हुने एएफसी एसियन कप चीन २०२३ को तेस्रो चरणका लागि नेपाली राष्ट्रिय फुटबल टिमले तयारी गरिरहेको छ।
तयारीका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दुई चरणमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने योजना सार्वजनिक गरेका थिए।
सोही योजनाअनुरुप नेपालले माघमा मरिसससँग घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेलेको थियो। दशरथ रंगशालामा भएको दुवै खेलमा नेपालले समान १-० को जित निकालेको थियो।
नेपालले एएफसी एसियन कप चीन २०२३ को तेस्रो चरणको छनोटको तयारीका लागि दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि थाइल्यान्ड भ्रमण गरेको हो।
छनोटमा नेपाल कठिन समूहमा छ। समूह ‘ए’ मा नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया रहेका छन्।
यो समूहका खेल कुवेतमा हुनेछन्। खेलहरू ८ जुनमा सुरु भएर १४ जुनमा सकिनेछन्।
नेपालले आफ्नो पहिलो खेलमा जोर्डनसँग ८ जुनमा कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ। यस्तै नेपालले ११ जुनमा कुवेत र १४ जुनमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ।
थाइल्यान्ड भने समूह 'सी' मा छ। यो समूहमा थाइल्यान्डसँगै उज्वेकिस्तान, माल्दिभ्स र श्रीलंका छन्।
थाइल्यान्डले पछिल्लोपटक गत जनावरी १ मा आसियन क्षेत्रको एएफएफ कपको फाइनलको दोस्रो लेगमा इन्डोनेसियासँग प्रतिस्पर्धा गरेको थियो।
सिंगापुरको कालाङमा भएको दोस्रो लेग २-२ गोलको बराबरीमा सकिएको थियो। डिसेम्बर २९ मा भएको पहिलो लेगमा ४-० ले विजयी भएको थाइल्यान्ड समग्रमा ६-२ ले विजयी हुँदै च्याम्पियन बनेको थियो।
फिफा वरियता र तुलनात्मक रूपमा समेत बलियो देखिएको थाइल्याण्डविरुद्ध नेपाल किरण कुमार लिम्बूको कप्तानीमा मैदान उत्रदैछ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्रका खेलाडीलाई बाहिर राख्दै २५ सदस्यीय टोलीको घोषणा गरेका छन् ।
मछिन्द्रले २२ चैतमा श्रीलंकाको सुपर लिग च्याम्पियन ब्लु स्टारसँग दशरथ रंगशालामा खेल्ने तालिका रहेका कारण क्लबका आधा दर्जन भन्दा बढि खेलाडी राष्ट्रिय टोलीबाट बाहिरिएका हुन् ।
स्ट्राइकर विमल घर्तिमगर, मनिष डाँगी, सुजल श्रेष्ठ, सुनिल बल, विशाल राई लगायत खेलाडी बिनै अब्दुल्लाहले युवा खेलाडीलाई टिममा राखेका छन्।
मुख्य प्रशिक्षक अब्दुल्लाहले थाइल्यान्ड प्रस्थान गर्नु अघि युवा टिमबाट सकारात्मक नतिजाको आशा गरेको र सोही अनुसार रणनीति बनाएर खेल्ने बताएका छन् ।
यससँगै अब्दुल्लाहले नेपाली टोलीका लागि १५औं खेल खेलाउँदै छन् । थाइल्यान्ड पछि नेपालले थाई शीर्ष डिभिजनको चोनबुरी एफसीसँग १३ गते खेल्नेछ ।
नेपाली टिमः
किरणकुमार लिम्बु (कप्तान/गोलरक्षक), टिकेन्द्र थापा (गोलरक्षक), दीप कार्की (गोलरक्षक), आशिष लामा, आयुष घलान, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, प्रशान्त अवस्थी, नवीन गुरुङ, दर्शन गुरुङ, नितिन थापा, दिनेश राजवंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सन्तोष तामाङ, आकाश बुढा मगर, सुमन अर्याल, सुमन लामा, सुदीप गुरुङ, सुरज ज्यू ठकुरी, तेज तामाङ, सुवास गुरुङ, रोहित चन्द।
अफिसियल्स: इन्द्रमान तुलाधर (हेड अफ डेलिगेट्स), विजय घले (अफिसियल्स), पूर्णमान चित्रकार (अफिसियल्स), अब्दुल्लाह अलमुताइरी (मुख्य प्रशिक्षक), किरण श्रेष्ठ (सहायक प्रशिक्षक), विकास मल्ल (गोलकिपर प्रशिक्षक), कृष्णभक्त मानन्धर (टिम संयोजक), मधुसुदन उपाध्यय (टिम म्यानेजर), अविष्कार पुडासैनी (फिजियो), विवेक सुवेदी (मिडिया अफिसर), विकास गुरुङ (किट म्यानेजर)