नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिता खेल्ने १० टिमले खेलाडीको प्रशिक्षण तथा प्रतियोगिता व्यवस्थापनमा गम्भिर असर गरेको भन्दै निर्धारित समयमा प्रतियोगितामा सहभागी हुन असमर्थ भएको बताएका छन्।
उनीहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले ढिलो गरी प्रतियोगिताको स्विकृती दिएको भन्दै असन्तुष्टि जनाएका छन्।
एन्फाका पदाधिकारीले प्रतियोगिता गोल्डकपकै शैलीमा हुने र यो प्रतियोगितापछि सम्झौता खारेज हुने भन्ने अभिव्यक्तिमा १० टिमले बिहीबार विज्ञप्तिमार्फत असन्तुष्टि जनाएका छन्।
विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी र तीन नयाँ टोली झापा एफसी, वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम डि मेचीले असन्तुष्टि जनाएका हुन्।
प्रतियोगिता आगामी असोजमा संचालन गर्न र एन्फाको क्यालेन्डरमा समावेश गर्न पनि उनीहरूले माग गरेका छन्।
एन्फाले एनएसएललाई चैत २५ देखि जेठ १ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न बुधबार अनुमति दिएको थियो। तर एनएसएल टिमले १५ दिनअघि मात्र प्रतियोगिता गर्न अनुमति दिँदा तयारी गर्न समय नभएको दाबी गरेका छन्।
यसअघि ए डिभिजन क्लबहरूले एनएसएल टिममा आफूसँग आबद्ध खेलाडी भएको विषयमा असन्तुष्टि जनाएका थिए। साथै एनएसएल टिमलाई क्लब सरहकै मान्यता दिएको विषयमा पनि उनीहरू संशकित थिए।
क्लबको असन्तुष्टि र एन्फाको पत्रविपरित एनएसएलले अक्सन आयोजना गरेको थियो। यो विषयमा एन्फाले एनएसएलसँग स्पष्टिकरण समेत सोधेको थियो।
गत चैत ३ गतेको एन्फा कार्यसमिति बैठकले अध्यक्ष कर्माछिरिङ शेर्पाको संयोजकत्वमा एनएसएल विवादको समाधानका लागि कार्यदल गठन गरेको थियो।
कार्यदलले एनएसएल आयोजना गर्न दिने निर्णयसहित एन्फा र एनएसएलबीच भएको सम्झौता स्वत: रद्द हुने, खेलाडी आबद्ध गर्दा ए डिभिजन क्लबसँग अपसी समझदारी हुनु पर्ने तथा खेलाडी र क्लब दर्ता एनएसएलले नै गर्ने निर्णय गरेको एन्फा स्रोतको भनाइ छ। एन्फाले एनएसएलका लागि खेलाडी तथा क्लब दर्ता नगर्ने भएको छ।
चौधरी ग्रुपअन्तर्गको नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट कम्पनी एनएसएलको आयोजक हो।