फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा थाइल्यान्डसँग नेपाल पराजित भएको छ।
बिहीबार थाइल्यान्डको चोनबुरीमा भएको खेलमा नेपाल २-० गोलले पराजित भएको हो।
बलियो थाइल्यान्डविरूद्ध पहिलो हाफमा गोलरहित बराबरी खेलेको नेपालले अन्तिम १२ मिनेट बाँकी हुँदा पहिलो गोल खाएको थियो।
थाइल्यान्डका लागि फिलिप रोलरले ७८ मिनेटमा पहिलो गोल गरे। ८९ मिनेटमा वीराचार्टले थाइल्यान्डको अग्रता दोब्बर पारेका थिए।
फिफा वरीयताको एक सय १२ औं स्थानमा छ भने नेपाल एक सय ६७ औं स्थानमा छ।
अब नेपालले थाई शीर्ष डिभिजनको चोनबुरी एफसीसँग १३ गते खेल्नेछ।
पछिल्लोपटक नेपाल र थाइल्यान्डबीच सन् २००८ मा प्रतिस्पर्धा भएको थियो। सो खेलमा नेपाललाई थाइल्यान्डले ७-० को फराकिलो अन्तरले पराजित गरेको थियो।
आगामी जुनमा हुने एएफसी एसियन कप चीन २०२३ को तेस्रो चरणका लागि नेपाली राष्ट्रिय फुटबल टिमले तयारी गरिरहेको छ।
छनोटमा नेपाल कठिन समूहमा छ। समूह ‘ए’ मा नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया रहेका छन्।
यो समूहका खेल कुवेतमा हुनेछन्। खेलहरू ८ जुनमा सुरु भएर १४ जुनमा सकिनेछन्।
नेपालले आफ्नो पहिलो खेलमा जोर्डनसँग ८ जुनमा कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ। यस्तै नेपालले ११ जुनमा कुवेत र १४ जुनमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ।