बी डिभिजन क्लब श्री भगवति क्लबका प्रशिक्षकलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले कारबाही गरेको छ। एन्फाले भगवतिका प्रशिक्षक शैलेश कर्माचार्यलाई तीन खेलको प्रतिबन्धका साथै ५० हजार रूपैयाँ जारिवाना गरेको हो।
सहिद स्मारक बी डिभिजन लिगमा बाँसबारी क्लबविरूद्धको खेल सकिए लगत्तै उनले रेफ्री सुमन श्रेष्ठमाथि हातपातको प्रयास गरेका थिए। लगत्तै सुरक्षाकर्मीले उनलाई रोकेका थिए।
खेलमा भवगतिलाई बाँसबारीले २-१ गोलले पराजित गरेको थियो।
एन्फाले क्लबका अफिसियलहरू दीपेन्द्र डंगोल, राजाराम श्रेष्ठ र विक्रम डंगोललाई जारी बी डिभिजन लिगको बाँकी खेलका लागि प्रतिबन्ध लगाएको थियो।
उनीहरुले खेलका दौरान रेफ्रीसहित सुरक्षाकर्मीलाई अभद्र व्यवहार गरेका थिए।
एन्फा सचिवालयले बाँकी निर्णय गर्नका लागि अनुशासन समितिलाई सिफारिस समेत गरेको छ।
जारी बी डिभिजन लिगमा ८ खेल खेलेको चर्च ब्वाइज १७ अंकसहित शीर्ष स्थानमा छ।
दोस्रो स्थानको नयाँ बस्तीको १३ अंक छ भने एक खेल कम खेलको तेस्रो स्थानको भगवतिको पनि १३ अंक नै छ। लिगबाट शीर्ष दुई क्लब ए डिभिजन लिगमा बढुवा हुनेछन्।