थाइ क्लब चोनबुरी एफसीसँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ। आइतबार चोनबुरीमा भएको खेलमा नेपाल ३-१ गोलले पराजित भएको हो।
नेपालले पहिलो हाफमा एक गोल खाँदा दोस्रो हाफमा दुई गोल खाएको थियो।
नेपालको तर्फबाट दर्शन गुरुङले ८३ मिनेटमा गोल गरेका थिए। चोनबुरी थाइ प्रिमियर लिग खेल्ने टिम हो।
यसअघि नेपाल थाइल्यान्डसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा २-० गोलले पराजित भएको थियो।
आगामी जुनमा हुने एएफसी एसियन कप चीन २०२३ को तेस्रो चरणका लागि नेपाली राष्ट्रिय फुटबल टिमले तयारी गरिरहेको छ। तयारीका लागि नेपालले थाइल्यान्ड भ्रमण गरेको हो।
छनोटमा नेपाल कठिन समूहमा छ। समूह ‘ए’ मा नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया रहेका छन्।
यो समूहका खेल कुवेतमा हुनेछन्। खेलहरू ८ जुनमा सुरु भएर १४ जुनमा सकिनेछन्।
नेपालले आफ्नो पहिलो खेलमा जोर्डनसँग ८ जुनमा कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ। यस्तै नेपालले ११ जुनमा कुवेत र १४ जुनमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ।