फिफा विश्वकप २०२२ अन्तर्गत एसिया छनोटको प्लेअफमा भिड्ने एसियन टिमको टिमको टुंगो लागेको छ। प्लेअफमा अस्ट्रेलिया र यूएई भिड्ने पक्का भएको हो।
एसिया छनोटको तेस्रो चरणको अन्तिम खेलमा युएईले दक्षिण कोरियालाई पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको हो।
समूह ‘ए’ मा तेस्रो बन्दै प्लेअफमा स्थान पक्का गर्ने क्रममा युएईले दक्षिण कोरियालाई मंगलबार घरेलु मैदानमा १-० गोलले पराजित गर्यो।
यो समूहबाट शीर्ष स्थानको इरान र दोस्रो स्थानको दक्षिण कोरियाले यसअघि नै विश्वकपमा स्थान पक्का गरेका थिए।
यसअघि समूह ‘बी’ बाट अस्ट्रेलिया तेस्रो हुँदै प्लेअफमा पुगेको थियो। समूहबाट जापान र साउदी अरेबियाले विश्वकपमा स्थान पक्का गरेका थिए।
अब अस्ट्रेलिया र युएईबीचको प्लेअफ आगामी जुन ७ मा कतारको राजधानी दोहामा हुनेछ। यो खेलको विजेता अन्तरमहादेशीय प्लेअफमा पुग्नेछ। जसमा दक्षिण अमेरिका छनोटको पाँचौ हुने टिमबीच प्रतिस्पर्धा हुनेछ।
एसियाको प्लेअफ विजेता र दक्षिण अमेरिकाको पाँचौ हुने टिमबीचको प्रतिस्पर्धा जुन १३ वा १४ मध्ये एक दिन हुनेछ। यो खेलको विजेता विश्वकपमा स्थान पक्का गर्नेछ।