इजिप्टलाई पराजित गर्दै सेनेगल फिफा विश्वकप २०२२ का लागि छनोट भएको छ।
अफ्रिका छनोटको तेस्रो चरणमा सेनेगलले इजिप्टलाई पेनाल्टी सुटआउटमा ३-१ गोलले पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेको हो।
चार दिनअघि भएको पहिलो लेगमा इजिप्ट १-० गोलले विजयी भएको थियो।
मंगलबार राति भएको दोस्रो लेगको निर्धारित र अतिरिक्त समयमा सेनेगलले १-० को जित निकाल्यो।
दुवै लेग १-१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट खेलको नजिताको टुंगा लगाइएको हो।
पेनाल्टी सुटआउटमा सेनेगल र इजिप्टका सुरुवाती २-२ पेनाल्टी मिस भएका थिए।
पछिल्ला तीन पेनाल्टीमा सेनेगल गोल गर्न सफल भयो।
इजिप्टका लागि चौथो पेनाल्टी प्रहार गरेका मोहमद सलाह भने सफल भएनन्।
सेनेगलका लागि निर्णायक पाँचौ पेनाल्टी साडियो मानेले प्रहार गरेका थिए।
जसमा इंग्लिस क्लब लिभरपुलका आफ्ना सहकर्मी सलाहको टिमलाई स्तब्ध पार्दै मानेले सेनेगललाई विश्वकपमा पुर्याए।
अफ्रिका छनोटको अन्य खेलमा घानाले नाइजेरियासँग समग्रमा १-१ गोलको बराबरी खेलेपछि अवे गोलमा अघि रहदै विश्वकपमा स्थान पक्का गर्यो।
यस्तै क्यामरुनले पनि अल्जेरियालाई अवे गोलमा पछि पारेर विश्वकपको टिकट पक्का गर्यो।
अर्को खेलमा मोरक्कोले कंगोलाई ५-२ ले पछि पारेर विश्वकपमा स्थान बनायो।
यस्तै ट्युनिसियाले पनि मालीलाई समग्रमा १-० ले पराजित गरेर विश्वकपमा छनोट भयो।
फिफा विश्वकपका लागि अफ्रिकाबाट घाना, सेनेगल, ट्युनिसिया, मोरक्को र क्यामरून गरी पाँच टिम छनोट भएका छन्।