एएफसी कपअन्तर्गत प्रारम्भिक चरणमा अहिले नेपालको लिग च्याम्पियन मछिन्द्र क्लब र श्रीलंकाको ब्लुस्टार क्लबबीच खेल भइरहेको छ।
दशरथ रंगशालामा भइरहेको खेलको पहिलो हाफ सकिदा मछिन्द्र २ गोलले पछि परेको छ।
खेलको १५ मिनेटमा ब्लुस्टारले पेनाल्टी पायो। मछिन्द्रका डिफेन्डर देवेन्द्र तामाङले ब्लुस्टारका शेनल सन्देशलाई डिबक्सभित्र लडाएपछि इराकी रेफ्री योउसिफ सइद हसनले पेनाल्टी दिने निर्णय गरेका थिए।
प्राप्त पेनाल्टीमा एरेपडे ओमबेबेको प्रहार सफल हुन सकेन। उनको पेनाल्टीलाई मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले डाइभ हानेर पञ्च गरे।
त्यसअघि मछिन्द्रका फरवार्ड नुर्लान नोभरुजोभको प्रहारले गोलपोस्टको दिशा लिन सकेन। उनले डिबक्स भित्र पाएको सुन्दर अवसरमा सेकेन्ड बार च्याप्दै हानेको प्रहार आउट भएको थियो।
२४ मिनेटमा ब्लुस्टारले अग्रता लियो। उसका लागि मोहमेद इहसनले गोल गर्न सफल भए। मोहमेदले मोहमद फसलको फ्रिकिकमा गोल गरेका थिए।
खेलको २७ मिनेटमा ब्लुस्टारले अग्रता दोब्बर पार्यो। सन्देशले डिबक्सबाट उत्कृष्ट फिनिसिङ गरेका थिए।
यो खेलको विजेताले दोस्रो चरणमा भारतको एटिके मोहन बगानसँग प्रतिस्पर्धा गर्नेछ।