सहिद स्मारक बी डिभिजन लिग खेलिरहेको बाँसबारी क्लबले सह–प्रयोजकको रूपमा सिद्धार्थ बैंकसँग बुधबार सम्झौता गरेको छ।
काठमाडौं महानगरपालिका-३ स्थित क्लबको कार्यालयमा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष प्रेम थापा र सिद्धार्थ बैंकका सहायक महाप्रबन्धक (एजीएम) प्रदीप पन्तले प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरे।
चार लाख रूपैयाँ प्रायोजन सम्झौता एक वर्षको रहेको छ ।
अध्यक्ष थापाले देशकै ठूलो सिद्धार्थ बैंकसँग प्रायोजन सम्झौता गर्न पाउँदा बाँसबारी क्लब र बाँसबारी टोलबासी खुसी भएको बताए।
स्थानीय बासिन्दा दीपेश आचार्यको पहलमा सहकार्य सम्भव भएको र सहयोगले नेपालको फुटबल विकास र क्लबको उद्देश्य तथा लक्ष्य प्राप्त गर्न ठूलो सहयोग मिल्ने उनको भनाइ छ।
सिद्धार्थ बैंकका एजीएम पन्तले पनि बाँसबारी क्लबसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे।
बाँसबारी क्लबको मुख्य प्रायोजक अराउन्ड द हिमालयज प्रालि रहेको छ। क्लबले अराउन्ड द हिमालयजसँग १० लाख रुपियाको प्रायोजन सम्झौता गत फागुनमा गरेको थियो।
क्लबको सहप्रायोजक चोयु ट्रेकिङ प्रा.लि, हेल्थ पार्टनर वेलनेस हस्पिटल, मार्केटिङ पार्टनर काया स्पोर्ट्स एन्ड सप्लायर्स र किट्स पार्टनर कामरु ट्रेडिङ प्रा.लि. रहेका छन्।
एन्फा निर्वाचनको लागि प्रतिनिधि चयन
यता क्लबको कार्यालयमा बुधबार भएको कार्यसमिति बैठकले अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी निर्वाचनको लागि अध्यक्ष प्रेम थापालाई मताधिकारसहितको प्रतिनिधि र महासचिव रमेशकुमार कार्कीलाई प्रतिनिधि पठाउने सर्वसम्मत निर्णय गरेको छ।