इंग्लिस प्रिमियर लिगमा सिजनकै महत्वपूर्ण मानिएको शीर्ष स्थानको म्यानचेस्टर सिटी र दोस्रो स्थानको लिभरपुलको खेल बराबरीमा सकिएको छ।
आइतबार सिटीको मैदानमा भएको खेल २-२ गोलको बराबरीमा सकिएको छ। बराबरीपछि सिटीले अंक तालिकामा अग्रता भने राखिराख्न सफल भएको छ। सिटीको ३१ खेलबाट ७४ अंक र लिभरपुलको ७३ अंक छ।
खेलमा सिटीले दुईपटक अग्रता जोगाउन सकेन। खेलको पाँचौ मिनेटमा नै सिटीले अग्रता लियो। सिटीका लागि केभिन डे बुएनले गोल गरे। उनले बेर्नान्डो सिल्भाले दिएको पासमा गोल गरेका थिए।
तर १३ मिनेटमा लिभरपुलले बराबरी गोल फर्कायो। उसका लागि जोटाले अलेकजेन्डर अर्नोल्डको पासमा गोल गरे।
३६ मिनेटमा गाब्रियल जेससले गोल गर्दा सिटीले खेलमा दोस्रो पटक अग्रता लियो। कान्सेलोको पासमा उनले सिटीका लागि दोस्रो गोल गरे।
दोस्रो हाफ सुरु भए लगत्तै लिभरपुलले खेललाई दोस्रो पटक बराबरीमा ल्यायो। मोहमद सलाहको पासमा साडियो मानेले गोल गर्दा खेल २-२ को बराबरीमा पुगेको थियो।
६४ मिनेटमा सिटीका रहिम स्टर्लिङले बललाई जाली चुमाएका थिए। तर भिएआरमार्फत अफसाइड घोषित गरिएको थियो।