आगामी असार ६ गते हुने तय अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि सी डिभिजनबाट मताधिकार पाउने क्लबको टुंगो लागेको छ।
शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको निर्वाचनमार्फत मताधिकार पाउने क्लबको टुंगो लागेको हो।
१४ क्लबमध्ये ९ टिमले एन्फा निर्वाचनका लागि मताधिकार पाउने व्यवस्था छ। त्यसको लागि निर्वाचन समितिले शुक्रबार निर्वाचन गराएको थियो। शुक्रबार नै बी डिभिजनबाट मताधिकार पाउने ११ क्लबको टुंगो लाग्दैछ।
सी डिभिजनबाट खालीबारी युथ, प्लानिङ ब्वाइज, पुल्चोक स्पोर्ट्स, मनोहरा एकिकृत युवा, स्वयम्भू, महावीर स्टडिज एण्ड एसोसिएसन, आरसी ३२ र वीरगन्ज युथले मताधिकार पाएका छन्।
झापा फुटबल र समाज कल्याण खेलकुद क्लबले समान ७-७ भोट ल्याएका थिए। त्यसपछि गोलप्रथा गरिएकोमा समाज कल्याण भाग्यमानी सावित भयो।
झापासहित स्पोर्ट्स एकेडेमी साँगा, बाजुराको रानीवन स्पोर्ट्स, सानेपा र ओसिस क्लबले मताधिकार पाउन सकेनन्।
१४ क्लबबीच भएको भोटिङमा मनोहराले १४ भोट नै पाएको थियो। सबैभन्दा कम ओसिसले ५ भोट ल्याएको थियो।
भोटिङ अधिकार पाएका मध्ये समाज कल्याणबाहेक ८ क्लब वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्बाङ पक्षमा खुलेका क्लब हुन्।
असारमा हुने एन्फा निर्वाचनमा अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्बाङ पक्षबीच प्रतिस्पर्धा हुने पक्का जस्तै छ।
एन्फा निर्वाचनमा ४५ जिल्ला, १४ ए डिभिजन क्लब, ११ बी डिभिजन क्लब, ९ सी डिभिजन क्लब, खेलाडी संघ, प्रशिक्षक संघ, महिला संघ र रेफ्री संघका प्रतिनिधिले भोटिङ गर्न पाउनेछन्। यस्तै राष्ट्रिय लिगमा छनोट भएका मोफसलका चार क्लबसहित जम्मा ८७ भोटरले मत दिनेछन्।
सी डिभिजनका क्लब