फ्रेञ्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जित हात पारेको छ।
आइतबार राति भएको खेलमा पिएसजीले मार्सेलाई २-१ गोलले हरायो।
खेलको १२ मिनेटमा नेइमारको गोलबाट पिएसजीले खेलमा अग्रता लियो।
मार्सेका लागि कालेटा कारले ३१ मिनेटमा बराबरी गोल फर्काए।
पहिलो हाफको इन्जुरी टाइममा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पिएसजीलाई दोस्रो पटक अग्रता दिलाए।
खेलमा लिओनल मेसी र एमबाप्पेले बललाई जाली चुमाए पनि भिएआरमार्फत अफसाइड घोषित गरिएको थियो।
जितसँगै पिएसजीले अंक तालिकामा १५ अंकको अग्रता बनाएको छ। शीर्ष स्थानको पिएसजीको ३२ खेलबाट ७४ अंक छ। दोस्रो स्थानको मार्सेको ५९ अंक मात्र छ।
पिएसजी दशौं पटक फ्रेन्च लिगको उपाधि जित्ने अभियानमा छ। आगामी खेलमा जित हात पारे पिएसजीले पाँच खेलअघि लिगको उपाधि जित्नेछ।