म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा पुनः उक्लिएको छ। लिग अन्तर्गत बुधबार राति भएको खेलमा बिंघटनमाथि ३–० गोल अन्तरको महत्वपूर्ण जित हात पार्दै सिटी शीर्ष स्थानमा फर्किएको हो।
बुधबार भएको खेलमा म्यानचेस्टर सिटीलाई जिताउन रियाद महरेज, फिल फोडेन र बर्नान्डो सिल्भाले समान एक-एक गोल गरे।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो।
खेलको ५३ औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई सुरूआती अग्रता दिलाएका थिए। त्यसपछि ६५ औं मिनेटमा महरेजकै पासमा फोडेनले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे।
खेलको ८२ औं मिनेटमा बेर्नान्डो सिल्भाले गोल गर्दै सिटीलाई ३-० को सहज जित दिलाए।
यो जितसँगै सिटी पुनः लिगको शीर्षस्थानमा उक्लिएको छ।
उसले ३२ खेलबाट ७७ अंक हात पारेको छ। दोस्रो स्थानमा झरेको लिभरपुलको समान खेलबाट ७६ अंक छ।
यस्तै आर्सनलसँग पराजित भए पनि ६२ अंकसहित चेल्सी तेस्रो स्थानमा कायमै छ। चौथो स्थानमा रहेको टोटेनह्यामको ५७ अंक भएको छ।