मिडफिल्डर विक्रम लामा खेलाडी संघको अध्यक्षमा निर्वाचित भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको संघमा लामा निर्विरोध निर्वाचित भएका हुन्।
गोलकिपर विकेश कुथु, मिडफिल्डर सुजल श्रेष्ठ र डिफेन्डर विराज महर्जन उपाध्यक्ष चयन भएका छन्।
यस्तै रन्जित धिमाल, अनन्त तमाङ, विशाल रई, विमल घर्तिमगर, सरोज दाहाल, रोहित चन्द र विशाल श्रेष्ठ सदस्य चयन भएका छन्। उपाध्यक्ष र सदस्य पनि निर्विरोध चयन भएका हुन्।
अध्यक्ष निर्वाचित भएपछि लामाले खेलाडीको हकहितका लागि आवाज उठाउने बताए।
आगामी असार ६ गते हुने एन्फा केन्द्रीय कार्यसमितिको निर्वाचनअघि खेलाडी संघमा पनि नयाँ नेतृत्व चयन भएको हो।
एन्फा केन्द्रीय निर्वाचनमा अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्बाङ पक्षबीच प्रतिस्पर्धा हुने देखिएको छ।
एन्फा निर्वाचनमा ४५ जिल्ला, १४ ए डिभिजन क्लब, ११ बी डिभिजन क्लब, ९ सी डिभिजन क्लब, खेलाडी संघ, प्रशिक्षक संघ, महिला संघ र रेफ्री संघका प्रतिनिधिले मत दिन पाउनेछन्।
यस्तै राष्ट्रिय लिगमा छनोट भएका मोफसलका चार क्लब गरी जम्मा ८७ भोटरले मत दिनेछन्।